युवाले गरे जडिबुटी खेती सुरु
जुम्लाको सिँजा गाउँपालिका – ६ का युवाले सामूहिक जडिबुटी खेती गर्न थालेका छन् ।
वडाको माझखर्क जङ्गलका बीचमा उनीहरुले अत्तिस खेती गर्न थालेका हुन् । स्थानीयवासी लालबहादुर बुढाले गत वर्ष अत्तिसको बीउ बेचेरै रु ६ लाख अम्दानी गरिएकामा यस वर्ष रु १८ लाखसम्म आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।”अत्तिसको बीउ प्रतिकिलो रु ५० हजार र जरा रु दुई हजारमा बिक्री हुने गरेको छ । पहिले भारतका गल्लीगल्लीमा घुम्ती व्यापारमा निस्कने ती युवा अहिले गाउँमै सामूहिक जडिबुटी खेतीलाई आम्दानीको स्रोत बनाइरहेका छन् ।
माझखर्क कृषि फर्म दर्ता गरेर अहिले चार हेक्टर जमीनमा जडिबुटी खेती गरिएकोे अर्का युवक नवीन बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “लोप हुँदै गएका अत्तिस, अक्करकाँडा, सुमयो, सतुवा, गन्नइनो, पाँचऔँले, पदमचाल, बायाँजडीलगायत गरी २६ प्रजातिका जडिबुटी फर्ममा लगाएका छौँ । सबैभन्दा बढी अत्तिसको बीउ माग भएको छ । पहिले नुन, तेल र खाद्यान्न कसरी जोहो गर्ने भन्ने पिरलो हुन्थ्यो, अहिले आम्दानीको स्रोत कसरी बढाउने भन्नेमै ध्यानकेन्द्रित हुने गरेको छ ।
जुम्ला बहुमूल्य जडिबुटीको खानी भएकाले सो उद्योगको विकास गर्न सके मात्रै यहाँका नागरिकको जीवन सुधार हुने भएकाले यसमा ध्यान दिन स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई युवाले आग्रह गरेका छन् ।
पहिले काला पहाडमा दिनभरि भारी बोक्दा मुश्किलले दैनिक रु ५०० कमाइ गर्ने युवाले गाउँमै बसी जटिबुटी खेती गर्न थालेपछि खुशी छाएको स्थानीयवासी मुनबहादुर बुढाले बताउनुभयो ।
सो जडिबुटी फर्मका लागि गत आर्थिक वर्षमा सिँजा गाउँपालिकाले रु १० लाखमा भवन निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस