किर्गिजस्तानको संसदद्वारा संकटकाल घोषणालाई अनुमोदन
किर्जिस्तानको संसदले मुलुकमा संकटकाल घोषणा गर्ने राष्ट्रपति सूरोनबाई जीन्बेकोभको आदेशलाई अनुमोदन गरेको छ ।
हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राजधानी समेत देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएपछि राष्ट्रपति सूरोनबाईले संकटकाल घोषणा गर्नु भएको थियो ।
राष्ट्रपति सूरोनबाईले शुरुमा राजधानी विश्केकमा गत शुक्रबार संकटकालीन आदेश जारी गर्नु भएको थियो, तर कानुन बमोजिम संसदले तीन दिनभित्र राष्ट्रपतिको आदेशलाई अनुमोदन गर्न असफल भएको थियो । सोमबार, राष्ट्रपतिले दोस्रो पटक आदेश जारी गर्नु भएको थियो र मंगलबार त्यसलाई संसदले अनुमोदन गरेको हो ।
किर्गिजस्तानका राष्ट्रपतिको राजीनामा माग्दै राजधानी विश्केक समेत धेरै स्थानमा हिंसात्मक विरोध प्रदर्शन समेत भएका छन् । गत अक्टोबर ४ मा सम्पन्न संसदको चुनावमा सत्तारुढ दलले नै चुनाव जितेको घोषणा गरेलगत्तै विपक्षीहरुले चुनावमा धाँधली भएको भन्दै विरोध शुरु गरेका थिए ।
प्रदर्शनकारीहरुले सरकारी कार्यालयहरुमा समेत आक्रमण गरेका थिए । मतपरिणाम सार्वजनिक भएलगत्तै भड्किएको जुलुसले ११ वर्षे जेल जीवन बिताइरहेका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभलाई जेलमुक्त गरेका थिए । उहाँमाथि भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोपमा जेलमा राखिएको छ तर विपक्षीहरुले राष्ट्रपति जीन्बेकोभले राजनीतिक प्रतिशोध लिएको बताएका छन् ।
तर हिंसा भड्काएको आरोपमा शनिबार नै अटामबायेभलाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।
पन्ध्र वर्षको अन्तरालमा प्रदर्शनकारीले किर्गिजस्तानको सरकार तेस्रो पटक ढालिसकेका छन् । पूर्व सोभियत युनियनबाट अलग भएको र करिब ६५ लाख जनसंख्या रहेको किर्गिजस्तान सबैभन्दा गरिब राष्ट्र हो ।
राजधानी विश्केक समेतका स्थानमा भड्किएको हिंसा नियन्त्रण गर्न सरकारले सेना परिचालन गर्नुका साथै निषेधाज्ञा ९कर्फ्यु० जारी गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस