• जीवनशैली | Jiwanshaili
  • हुप्सेकोटमा कोभिड अस्पताल सञ्चालन


    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तहले कोभिड–१९ अस्थायी अस्पताल निर्माण गर्न शुरु गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिकामा समेत १० बेड ९शय्या०को कोभिड अस्थायी अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।
    गाउँपालिका १ मा रहेको कृषि उपज केन्द्रको भवनमा निर्माण गरिएको १० शय्याको कोभिड अस्पतालको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उद्घाटन गर्नुभएको हो । अध्यक्ष पाण्डेले कोभिडको लक्षण देखिएका र सामान्य लक्षण देखिएका सङ्क्रमितको फरकफरक कक्ष बनाएर उपचार गरिने बताउनुभयो ।
    गम्भीर खालका लक्षण देखिएका कोभिड सङ्क्रमितलाई भने गाउँपालिकाले सहजीकरण गर्दै सुविधायुक्त अस्पतालमा पठाउने व्यवस्था गरेको छ । गाउँपालिकाभित्र १२ शय्याको अस्पताल निर्माणका लागि करारमा चिकित्सक तथा नर्स राख्न आवेदन खुला गरिसकेको उहाँले बताउनुभयो ।
    हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले अहिले हुप्सेकोमा कोभिडका चार जना सक्रिय सङ्क्रमित रहेको जानकारी दिनुभयो । पालिकाभित्रका सङ्क्रमितको देवचुली–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको कोभिड अस्थायी अस्पतालमा उपचार भइरहेको छ । आठ स्थानीय तह रहेको नवलपरासी बर्दघाट सुस्ता पूर्वमा हालसम्म गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिका आफैले कोभिड अस्थायी अस्पताल निर्माण गरेका छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार