• जीवनशैली | Jiwanshaili
  • शिक्षणसँगै व्यावसायिक बाख्रापालन


    जहाँ इच्छा, त्यहाँ उपाय । बागलुङ नगरपालका–८ सिगानाका एक शिक्षकले शिक्षण पेसासँगै व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय बनेका छन् ।

    स्थानीय भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक भद्रबहादुर कार्की शिक्षण पेशामा लागेको २३ वर्ष भयो तर उहाँ अहिलेसम्म अस्थायी हुनुहुन्छ । कार्कीले व्यावसायिक खेतीका लागि सन्देश दिन एक वर्ष अघिदेखि बाख्रा फर्म सञ्चालन गर्नुभएको छ । उहाँ बिहान र बेलुकाको समयमा बाख्रा चराउने र डाले घाँस काट्ने गर्नुहुन्छ । दिउँसो उहाँकी श्रीमती लक्ष्मी कार्कीले सघाउनुहुन्छ ।
    यसरी अतिरिक्त व्यवसाय गर्दा शारिरिक तथा मानसिक रुपमा सन्तुष्टि समेत मिलेको शिक्षक कार्कीको अनुभव छ । उहाँले बाख्रापालनका लागि पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा निमारो, राई खनियो, दुदिलो, बेडुलोलगायतका डाँले घासको खेती समेत गर्नुभएको छ ।
    शिक्षक कार्कीको लक्ष्मी कृषि फर्ममा हाल खरी क्रस बोयर जातका ३५ बाख्रा बोका छन् । कार्कीले खरिजातलाई विस्तारै हटाएर बोयर जातको बाख्रा पाल्ने योजना अनुसार लगानी समेत बढाउँदै लैजानुभएको छ । बाख्रा पालनका लागि गोठमा भएको भैसी र गोरु बेचेर खोर निर्माण गर्नुभएका कार्कीले हाल सम्म रु।चार लाख भन्दा बढी लगानी गरिसक्नुभएको छ ।
    शिक्षण पेसामा अस्थायी भएका कारण अवकाश हुँदा आर्थिक रुपमा केही नहुने भएपछि वैकल्पिक पेसा अगाँल्न थालेको उहाँको भनाइ छ । बोयर जातको स्वादिष्ट मासु र धेरै हुने भएकाले यसप्रति धेरैको आर्कषण छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार