पाउडर दूध उत्पादन गर्ने उद्योगको स्थापना
बागमती प्रदेश सरकारको लगानीमा हेटौंडा उपमहानगरपालिका—१० सिसौंघारीमा धुलो दूध उत्पादन उद्योगको स्थापना गर्ने भएको छ ।
सोही वडाको सिसौंघारीमा करिब दुई विगाहा दुई कठ्ठा जग्गाभित्र धुलो दूध उत्पादन उद्योगको प्रशासकीय भवन र प्लान्ट निर्माणको लागि बागमती प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई निवेदन दर्ता गर्न अहिले सूचना प्रकाशित गरिसकिएको कृषि मन्त्रालयका प्रवक्ता डा शरण पाण्डेले बताउनुभएको छ ।
उहाँका अनुसार, बागमती प्रदेश कृषि मन्त्रालयको तर्फबाट रु ४५ करोड १२ लाखको लागतमा धुलो दूधको उत्पादन उद्योग स्थापना गर्न प्रदेश दुग्ध विकास बोर्डलाई रकम हस्तान्तरण गरिसकेको पनि जानकारी दिनुभयो । हेटौंडामा स्थापित हुने धुलो दूध उत्पादन उद्योगले आगामी आर्थिक वर्ष २०७८-७९ को आवभित्र दैनिक करिब ५ मेट्रिक टन धुलो दूधको उत्पादन गर्ने लक्ष्य राखिएको पनि प्रदेश दुग्ध विकास बोर्डले जनाएको छ ।
प्रदेश नम्बर २ को बारा, पर्सा, रौतहट र बागमती प्रदेशको चितवन र मकवानपुरका गरी पाँच हजार ६५३ जना कृषकबाट दैनिक ६० हजार ५०० लिटर दूध सङ्कलन गरी सो उद्योगले खरिद गर्ने कृषि मन्त्रालयका प्रवक्ता डा पाण्डेले उल्लेख गर्नुभयो । उहाँका अनुसार, धुलो दूध उत्पादन गर्ने कार्य प्रारम्भ भइसकेपछि प्रत्यक्ष÷अप्रत्यक्ष गरी करिब ८० जना सर्वसाधारणहरुले रोजगारी प्राप्त गरिनेछ ।
सो उद्योगले उत्पादन गर्ने दूधको प्याकिङ गरिएको दैनिक पाँच मेट्रिक टन धुलो दूध लाई सातवटै प्रदेशको स्थानीय बजार, होटलहरु र सर्वसाधारण उपभोक्तालाई सहज ढङ्गबाट वितरण गर्ने कार्य तालिकासहित यातायातको सुविधा उपलब्ध गराइने भएको कृषि मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस