• जीवनशैली | Jiwanshaili
  • लफडामा परिरहने भीटेन


    युवापुस्ताले निकै रुचाएका गायक (र्‍यापर) भीटेन उर्फ समीर घिसिङ अहिले प्रहरीको पक्राउ सूचीमा छन् । आफ्नो नयाँ गीत ‘पारा’मा नेपाल प्रहरीलाई अश्लिल चित्रण गरेको भन्दै प्रहरी प्रधान कार्यालयले भीटेनलाई पक्राउ गर्न साइबर ब्युरोलाई निर्देशन दिएको हो ।

    ‘हामी यस्तै त हो नि ब्रो’, ‘गरिबको छोरो हुँ म’ ‘सिमसिमे पानी’जस्ता र गीतका र्‍यापर भीटेनलाई युवा पुस्ताले रुचाएको गायक मानिन्छ । तर, उनी आफ्ना गीतकै कारण पटकपटक प्रहरी हिरासतमा पुग्छन् । गत वर्षको कार्तिक महिनामै उनले प्रहरी बर्दीको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका थिए । त्यसै साल पोखरामा गीत गाउँदै गर्दा भीटेनलाई दर्शकले ढुङ्गा हानेका थिए ।

    एक समूहले भीटेनको लेखन, सङ्गीत र प्रस्तुतिको खुबै प्रशंसा गर्छन् । उनलाई प्रगतिशील मान्छन् । तर, अर्को पनि समूह छ जसले भीटेनले समाजमा नकारात्मक सन्देश प्रवाह गरिरहेको ठान्छन् । गीतको मात्र नभएर भीटेनका आनीबानी र प्रेम सम्बन्धले पनि सामाजिक सञ्जाल तात्ने गरेको छ । कहिले टिसर्ट फुकालेर अर्धनग्न भएर गीत गाउने त कहिले नाच्दै दर्शकको हुलमा मिसिने भीटेनको सुरक्षा गर्न प्रहरी र आयोजक चिन्तित हुने गर्छन् ।

    प्रहरीको पोशाकमा लागूपदार्थ खाँदै गरेको तस्वीर फेसबुकमा राखेको तथा नेपाल प्रहरीको मानमर्दन हुने गरी गीत गाएको आरोप भीटेन एक साता हिरासतमा थुनिएका बेला भीटेनको पक्षमा सामाजिक सञ्जाल तातेको थियो । अहिलेको गीत पारा पनि विवादमा आएपछि उनले आफ्नो अफिसियल च्यानलबाट गीत हटाएका छन् । पारा बोलको उक्त र्याप ट्रेन्डिङको एक नम्बरमा थियो ।

    को हुन् भीटेन ?

    नेपाली हिप–अप र्‍यापरको पहिचान बनाएका भी–टेनकोे जन्म रौतहटमा भएको हो । भीटेन गृहजिल्लाबाट थाङ्का पेन्टिङ सिक्ने सोच राखेर आफ्ना काकासँग काठमाडौं आएका थिए । काठमाडौंबाटै उच्च शिक्षा प्राप्त गर्ने इच्छा राखेर उनी कलेज भर्ना भए । तर, आर्थिक समस्या र अन्य क्षेत्रमा बढी रुचि भएकाले उनले पढाइलाई अघि बढाउन सकेनन् ।

    त्यसैबेलादेखि भीटेनको रुचि पेन्टिङ, डान्स र खेलकुदमा बढ्यो । पछि साथीहरूको संगतमा नशालु पर्दाथको सेवन गर्न थाले । त्यसै कारणले उनी काकाको घरबाट निकालिए । त्यसपछि सुरू भयो उनको वास्तविक संघर्ष ।

    विस्तारै भीटेन थाङ्का पेन्टिङबाट पनि टाढिन थाले । अनि उनको रुचि र्‍यापतिर बढ्न थाल्यो । अर्का चर्चित र्‍यापर  गिरिष खतिवडाको सहयोगमा उनले आफ्नो स्वादका र्‍याप गाउन थाले । विस्तारै उनको र्‍याप युवापुस्ता माझ पुग्न थाल्यो र उनको चर्चा पनि बढ्दै गयो ।
    सन् २०१५ सेप्टेम्बरमा ‘गरिबको छोरो हुँ म गरिबी नाउँ, ज्यालादारी गरी घर चलाउने मेरो बाउ’ गीतको लोकप्रियतासँगै उनको चर्चा देशविदेशमा फैलियो ।

    यसपछि सिमसिमे पानी गीतले उनको चर्चा सर्वत्र फैलियो । यो गीतमा गायिका रेखा शाहले कपिराइट लगाएकी थिइन् । तर, केही समयपछि विवाद सल्टियो र भीटेनले फेरि गीत युट्युबमा राखे । लकडाउनपछि उनले कम्पोज गरेको ‘पारा’ बोलको गीतका कारण अहिले उनलाई पूर्जी जारी गरिएको हो ।


    क्याटेगोरी : कला शैली, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार