स्वदेशमै भविष्य खोजिरहेका युवा कृषिमा पेशातर्फ आकर्षित
देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेशातर्फ आकर्षित हुन थालेका छन् ।
गल्याङ नगरपालिका–९ साङलिया रिपका ३० वर्षीय दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा रमाउन थाल्नुभएको छ । दुबई र कतारमा गरी पाँच वर्ष बिताउनुभएका रानाले विदेशमा श्रम बढी गर्नुपर्ने तर श्रमअनुसारको पारिश्रमिक नपाएपछि नेपाल फर्किएर गत वर्षदेखि आफ्नै पाखो बारीमा अदुवाखेती शुरु गरेको बताउनुभयो । रानाले भन्नुभयो, “विदेशमा गएर गर्ने मेहनत हामीले हाम्रै पाखापखेरामा गर्यौँ भने त्यहाँभन्दा धेरै कमाउन सकिन्छ । हामीले आफ्नै देशमा पसिना बगाउने बानी बसाउनु पर्छ, विदेश भन्ने कुरा क्षणिक समयको लागि मात्रै रहेछ ।”
गत वर्ष छ रोपनी जमिनमा अदुवाखेती गर्नुभएका रानाले यस वर्ष ३० रोपनीमा अदुवा लगाउनुभएको छ । अघिल्लो वर्ष छ रोपनी जमिनमा लगाएको अदुवाखेतीबाट रु दुई लाख आम्दानी भएको बताउँदै रानाले भन्नुभयो, “यो वर्ष बजारभाउ राम्रो पाएमा रु २० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको छु ।” तीस रोपनी बाँझो जमिनमा खनजोत गरेर लगाएको अदुवाले यस वर्ष राम्रो आम्दामी दिनेमा राना ढुक्क हुनुहुन्छ ।
गत वर्ष छ रोपनी जमिनमा मात्रै अदुवाखेती गर्नुभएका उहाँले पहिलो वर्षमा नै राम्रो उत्पादन भएपछि १८ रोपनी जग्गा भाडामा र आफ्नो १२ रोपनी गरी ३० रोपनी बाँझो जमिनमा अदुवाखेती गर्नुभएको हो । गाउँघरमा बाँझो रहेको जमिनको सदुपयोग हुनुका साथै भिरालो जमिनमा समेत अदुवाखेती लगाएर सजिलै आम्दानी लिन सकिने र अन्य खेतीलाई बाँदरले खाए पनि यसलाई बाँदरले पनि नखाने भएकाले अदुवाखेतीमा लागेको रानाले बताउनुभयो । नगरपालिकाले समेत व्यावसायिकरूपमा कृषि गर्नेलाई अनुदान उपलब्ध गराएपछि आफूलाई थप हौसला मिलेको रानाले बताउनुभयो । अदुवासँगसँगै बाख्रापालनसमेत गर्नुभएका उहाँले रु ३०र४० हजार कमाउनका लागि विदेशिन नपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस