राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । नेपाल र भारतीय सेनाबीच एकअर्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा रहिआएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुनुहुन्छ ।
समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित हुनुहुन्थ्यो । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा चार सदस्यीय भ्रमण दलका साथ भारतीय सेनाध्यक्ष नरवणे बुधवार यहाँ आउनुभएको थियो ।
कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा दुई देशबीच उत्पन्न असहज परिस्थितिको सुधारका लागि उहाँको भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ । नेपाली सेनाले उहाँको भ्रमणलाई दुवै सेनाबीचको परम्परागत सम्बन्धको निरन्तरताका रुपमा लिइएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नुहुनेछ । नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी सेनाध्यक्ष नरवणे शुक्रबार नै स्वदेश फर्कनुहुनेछ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस