कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गर्दै
तनहुँको व्यास नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको छ । वर्षौदेखि फोहर फाल्दै आएको व्यास नगरपालिका–३ स्थित भतेरी मादी नदीले कटान गरिदिएपछि नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको हो ।
व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा प्राङ्गारिक मल उद्योग सञ्चालन गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । सोही उद्योगमा दमौली बजारबाट सङ्कलन हुने कुहिने फोहरलाई पनि मल बनाइने न्यौपानेले बताउनुभयो । “
भतेरी मादीले कटान गरिएपछि फोहरमैला फाल्ने ठाउँ खोज्न नगरपालिकालाई सकस भयो, बल्ल बल्ल ठाउँ पायौँ,” न्यौपानेले भन्नुभयो, “कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर कुहिने फोहरलाई मल बनाइनेछ ।” नगरपालिकाले केही वर्षदेखि नै कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर बजारबाट फोहरमैला सङ्कलन गर्दै आएको छ । नगरपालिकालाई फोहरमैला व्यवस्थापनका लागि व्यास नगरपालिका–१ का स्थानीयवासी रामदेव पन्थले पाँच वर्षका लागि निःशुल्क जग्गा सहयोग गर्नुभएको छ ।
नकुहिने फोहरलाई यही जग्गामा व्यवस्थापन गर्छौं, कुहिने फोहरबाट मल बनाउँछौ,” नगरप्रमुख न्यौपानेले भन्नुभयो । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलका अनुसार स्थानीयवासीले २०८२ सालसम्मका लागि फोहर बिसर्जनका लागि निःशुल्क रुपमा जग्गा उपलब्ध गराएका छन् । “अब कम्तिमा पनि पाँच वर्षका लागि फोहरमैला बिसर्जनका लागि समस्या हुँदैन,” उहाँले भन्नुभयो ।
नगरपालिकाले वडा नं ४ र १० को चार वटा सामुदायिक वनमा पनि फोहरमैला केन्द्र निर्माणका लागि प्रकृया अगाडि बढाएको छ । चार वटा सामुदायिक वनले फोहरमैला केन्द्र निर्माणका लागि सहमति जनाएकाले ती ठाउँमा वातावरणीय प्रारम्भिक अध्ययन गर्न लागिएको छ ।
नगरपालिकामा स्थायी रुपमा ल्याण्डफिल्ड साइड बनाउन माग हुँदै आएपनि उपयुक्त ठाउँ नपाउँदा नगरपालिकाले ल्याण्डफिल्ड साइड निर्माण गर्न सकिरहेको छैन । व्यास नगरपालिका–५ स्थित एक सामुदायिक वनमा ल्याण्डफिल्ड साइड निर्माणका लागि अध्ययन गरिएपनि स्थानीयवासीको विरोधपछि उक्त कार्य स्थगित भएको थियो । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।
नगरपालिकाले व्यास नगरपालिका–२, ३ र ४ बाट कुहिने र नकुहिने फोहर वर्गीकरण गरी सङ्कलन गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस