कोदो उत्पादन बढाउन किसानलाई प्रविधि र औजार
जिल्लाको ढोरपाटन नगरपालिकाले रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ ।
ढोरपाटनमा उत्पादन हुने कोदो, उवा र जौलगायत रैथानेबालीको संरक्षण र प्रर्वद्वनका लागि नगरपालिकाले लगानी बढाएको हो । किसानले परम्परागत अन्नबाली कोदोको सट्टा अन्यबाली लगाउने गरेका कारण यसको उत्पादनमा कमी आउन थालेपछि नगरपालिकाले तीन वर्षअघिदेखि कोदोबाली संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
किसानलाई प्रविधि, उपकरण र बीउको प्रबन्ध गरेर कोदोबालीको प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले जानकारी दिनुभयो । “स्थानीय जातको बीउ नै लगाएका किसानलाई लगाउने विधि सिकाइरहेका छौं, जसले उत्पादन बढाउँछ”, उहाँले भन्नुभयो, “कोदोको सबैभन्दा झण्झटिलो काम भनेको फसल लिने बेलको हो, हामीले किसानलाई सजिलोका लागि कोदो झार्ने मेसिन र सुकाउनका लागि त्रिपाल दिने गरेका छौं ।
किसानको मागका आधारमा नगरपालिकाले प्रक्रिया पूरा गरेर सामग्री दिने गरेको छ । हालसम्म यहाँका एक सय जना किसानले कोदो सुकाउनका लागि त्रिपाल पाएका छन् भने समूहमा १५ वटा कोदो, जौ र उवा झर्ने मेसिन वितरण गरिएको छ ।
‘हिजो गरिबका घरमा मात्रै पाक्छ भन्ने कोदो अहिले तारे होटलमा पाकिरहेको छ’ नगरप्रमुख देवकुमार नेपालीले भन्नुभयो, “हाम्रो माटोमा फल्ने कोदो बजारका तारे होटलमा पु¥याउने लक्ष हो ।” यहाँका किसानले उत्पादन गरेको कोदो, काठमाडाँै, पोखरा, बुटवललगायतका शहरसम्म पुग्छ । पारिवारिक हिसाबले बजार पस्ने कोदो, जौ र उवालाई व्यावसायिक बनाउनेगरी नगरपालिकाले उत्पादनमा सघाउन थालेको नगरप्रमुख नपालीको भनाइ छ ।
नगरपालिकाले गत वर्ष रु १५ लाख वजेट विनियोजन गरेर कोदो, जौ र उवाको संरक्षण तथा प्रर्वद्धन थालेको थियो । तीन वर्षदेखि कार्यक्रम निरन्तर छ । “यहाँको कोदोको पिठो ब्राण्ड बनाएर प्याकिङ गरी बजारसम्म पठाउने योजना छ”, कृषि प्राविधिक अधिकारीले भन्नुभयो, “रैथाने बालीको व्यावसायिक उत्पादन गर्न सकिन्छ भनेर किसानलाई उत्प्रेरित गरिरहेका छौं ।” ढोरपाटनको मुख्य बाली नै कोदो हो । त्यसका अलवा यहाँ जौ र उवा धेरै फल्छ । नगरको तथ्याङ्क अनुसार, अहिले ढोरपाटनमा १० मेट्रिक टन कोदो फलेको छ ।
स्थानीय जातको डल्ले र झाँप्रे कोदो यहाँ फल्छ । कोदोको विकसित बीउ र अन्य खाद्यबाली जस्तो नपाइने भएकाले पनि उत्पादन बढाउन कठिन रहेको कृषि प्राविधिक बताउँछन् । यहाँ उत्पादन भएको कोदो स्थानीयवासीले ढिँडो, रोटीजस्ता खानाका अलवा पशु चौपायाको आहारा र घरेलु मदिराको उत्पादनका लागि समेत प्रयोग गर्ने गरेका छन् ।
बागलुङ कोदो उत्पादनका हिसाबले अग्रणी जिल्लाको रुपमा चिनिन्छ । उच्च पहाडदेखि बँेशीसम्म राम्रो उत्पादन हुने कोदो वर्षाको समयमा फल्छ । यसवर्ष वर्षा राम्रो भएकाले ढोरपाटनका अलवा जिल्लाका अन्य ठाउँमा समेत कोदो राम्रो फलेको कृषि प्राविधिकको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस