विद्यालय पुग्न बास बस्नुपर्ने
रमुवा जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ ।
जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउन नपर्ने भए पनि गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवाका विद्यार्थीहरु कक्षा १० सम्मको शिक्षा लिन बास बस्नुपर्ने अवस्था छ । पाण्डवखानीको रमुवा गाउँमा आधारभूत विद्यालय भए पनि कक्षा ९ र १० अध्ययनका लागि बास बसेरै अध्ययन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
कक्षा १० सम्मकै अध्ययनका लागि घर छाड्नु दुर्गम गाउँका विद्यार्थीको नियति बनेको छ । दुर्गम गाउँका रूपमा रहेको रमुवामा कक्षा ८ सम्म मात्रै अध्यापन हुँदा यहाँका विद्यार्थीलाई पाण्डवखानी आउनुपर्ने समस्या रहेको गलकोट–१० पाण्डवखानीका वडाध्यक्ष तिलक घर्तीले बताउनुभयो ।
रमुवामा कक्षा ८ सम्म मात्र पढाइ हुन्छ, त्यसपछि पाण्डवखानी माध्यमिक विद्यालय पुग्न करिब तीन घण्टा पैदल लाग्छ”, घर्तीले भन्नुभयो “आउन जान सम्भव छैन, त्यसैले त्यही स्कुल आसपासमा बास खोजेर अध्ययन गर्नुपर्ने अवस्था छ ।” अहिले रमुवाका २० भन्दा बढी विद्यार्थीले पाण्डवखानी माध्यमिक विद्यालयको ९ देखि १२ कक्षासम्म बास खोजेर अध्ययन गर्दै आएका छन् ।
विसं २०३३ मा स्थापना भएको रमुवा आधारभूत विद्यालयमा १० कक्षासम्म अध्यापन गराउन सके विद्यार्थीलाई बास बस्नुपर्ने समस्या हटेर जानेछ । कक्षा १० देखि माथि नगरपालिकाको केन्द्र हटियादेखि अन्य शहर बजार गएर पढ्न सकिने भए पनि गाउँमै १० कक्षासम्मको विद्यालय सञ्चालन गर्न आवश्यक रहेको रमुवा आधारभूत विद्यालयका शिक्षक रेशम रानाले बताउनुभयो ।
रमुवा गाउँमा १२६ घर छन् । गाउँमै विद्यालय नहुँदा कक्षा ८ मात्रै अध्ययन गरेर छोडेको रमुवाका २१ वर्षीय राजेश विकले बताउनुभयो । उहाँले चार वर्षअघि रमुवा आधारभूत विद्यालयबाट ८ कक्षा पास गर्नुभएको थियो । “गाउँमा विद्यालय भएन, बास बसेर अध्ययन गर्दा धेरै खर्च लाग्ने भएपछि विद्यालय छोड्नुपर्ने बाध्यता पर्यो”, विकले भन्नुभयो । कक्षा ९ र १० अध्ययन गर्न घरै छोडेर आउनुपर्ने हुँदा धेरै समस्या भोग्दै आएको पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययनका लागि कोठामा बस्दै आउनुभएका प्रेमबहादुर श्रीसले बताउनुभयो ।
घरबाटै विद्यालय जान पाए धेरै खर्च जोगिन्थ्यो”, श्रीसले भन्नुभयो “घर छोडेर उच्च शिक्षा लिन पाए त हुन्थ्यो, १० कक्षा पढ्न गाउँनै छोड्नुपर्ने अवस्था छ ।” श्रीस जस्तै बास बसेर चन्द्रा पटेल, ईश्वर क्षत्रीसहित रमुवाका २२ विद्यार्थीले पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन् ।
आर्थिक वर्ष २०७७-०७८ मा आवासीय रूपमा अध्ययन गर्नुपर्ने समस्यामा रहेका विद्यार्थीका लागि खान र बस्नका लागि रु तीन लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार पाण्डवखानी माध्यमिक विद्यालयमा आवासीय सुविधासहितको निःशुल्क शिक्षा र रमुवामा १० कक्षासम्मको शिक्षा दिने गरी पहल भइरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस