भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने
कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ। जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो। राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइन्छ। राजधानीका यी स्थानमा हजारौँ मानिस जम्मा भएर छठ मनाउने गरिन्थ्यो।
कमलपोखरीमा विगत १० वर्ष अघिदेखि छठ पूजा समाजको नेतृत्व गर्दै आएका राजेन्द्र सिंह जिल्ला प्रशासन कार्यालयले २५ जना मात्र उपस्थित भएर पर्वको विधि पूरा गर्न स्वीकृति दिएको बताउँछन्। प्रशासनको स्वीकृतिअनुसार विगत नौ वर्षदेखि व्रत बस्दै आएकालाई मात्र मङ्सिर ५ गते बेलुकी कमलपोखरीमा प्रवेश गराएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने वातावरण बनाइने उनले जानकारी दिए।
विगत वर्षमा जस्तो व्रतालुलाई राति पोखरी परिसरमा बस्नसमेत नदिइने कमलपोखरी छठ पूजा समाजले जनाएको छ। दश वर्षअघिदेखि कमलपोखरीमा विशेष साजसज्जाका साथ रङ्गीचङ्गी बनाएर छठ पर्व मनाइन्थ्यो। यस वर्ष भने सजावट र विशेष समारोहको कुनै तयार भएको छैन। कमलपोखरी र गुह्येश्वरीको छठ कार्यक्रममा राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति समेत जाने परम्परा बनेको थियो।
काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठ पनि पर्वको भीडभाडमा दूरी कायम नहुने भएकाले विशेष समारोह नगरिने बताउँछन्। व्रतालुले घरमै बसेर सूर्यको आराधना गर्न सक्ने भएकाले भीडभाडमा नजान वडा कार्यालयले आह्वान गरेको छ।
पशुपति क्षेत्रको गुह्येश्वरीमा विगत वर्षजस्तो छठ समारोह नहुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिए। राजधानीमा नागपोखरी, गहनापोखरी, वाग्मती, विष्णुमतीलगायत नदी किनारका विभिन्न स्थानमा छठ पूजा गर्न स्थानीय समिति गठन गरेर समारोह गर्ने गरिएको थियो। यस वर्ष त्यसो नगरी घरमै बसेर पर्व मनाउन प्रशासनले आह्वान गरेको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि छठको विधि शुरु हुन्छ। सूर्यदेवको आराधना, उपासना र पूजा गरी सप्तमीसम्म पर्व मनाइन्छ। चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसिन्छ। यसदिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ। चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ। कात्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ। यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ। यसलाई खरना भन्ने गरिएको छ।
षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवम् छठी मातालाई चढाउने गरिन्छ। रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ। षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ। साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ। डुब्न लागेका सूर्यलाई अर्घ्य दिई प्रणाम गरिन्छ। अर्घ्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान चार बजेदेखि नै प्रतीक्षा गरिन्छ। उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिइन्छ। यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ। बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो। सूर्योदय कालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ। सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ।
मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन्। विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ लगायत पहाडमा मनाउन थालिएको हो। विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो। रानीपोखरीमा भूकम्पपछिको पुनःनिर्माणका क्रममा पानी नभएपछि विगत पाँच वर्षदेखि छठको कार्यक्रम स्थगित हुँदै आएको थियो। यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति शुरु भएको थियो। रासस
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस