उत्पादकत्व खोजी गर्न माटो परीक्षण
बागलुङको जैमिनी नगरपालिकाले कास्कीमा रहेको माटो परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा माटो परीक्षण गर्न शुरुआत गरेको छ । नगरका दशवटै वडामा परीक्षण गरेर माटोको उत्पादकत्व खोजी गर्न थालिएको हो । माटोको गुणअनुसारको बाली लगाउने उद्देश्यले परीक्षण थालिएको नगरप्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
माटोमा रहेको अम्लियपन र उत्पादकत्वमा ह्रास आउनुको कारण खोज्न परीक्षण शिविर सञ्चालन भएको उहाँले बताउनुभयो । शिविरको पहिलो चरणमा किसान आफैँलाई माटोको नमूना सङ्कलनको विषयमा कृषि प्राविधिकले जानकारी गराएका छन् । “हामीले उत्पादन बढाउने उद्देश्यले यसो गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “जबर्जस्त खेतीले कृषिमा प्रगति गर्न सकिन्न ।” उब्जाउ हुने जमिनको माटो परीक्षण हुने उहाँले जानकारी दिनुभयो । माटोको क्षमताअनुसारको बालीका लागि नगरपालिकाले प्राविधिकको सल्लाहमा सिफारिस गर्नेछ ।
“हिजोजस्तो आज हाम्रो उत्पादन छैन, गिरावट भएको उत्पादन बढाएर कम्तीमा हामी कृषिमा आत्मनिर्भर हुन चाहन्छौँ”, नगरप्रमुख पौडेल भन्नुभयो, “थोरै लगानीमा हाम्रो माटोको क्षमता पत्ता लाग्छ भने परीक्षण किन नगर्ने रु” चालू आर्थिक वर्षमा नगरपालिकाले रु दुई लाख ५० हजार माटो परीक्षणका लागि विनियोजन गरेको छ । यस वर्ष एक हजार नमूना परीक्षण गर्ने लक्ष्य रहेको कृषि प्राविधिक रवीन्द्र शर्माले जानकारी दिनुभयो ।
“किसान आफैँले नमूना ल्याउनुहुन्छ, नमूना सङ्कलन विधि हामीले सिकाइसकेका छौँ”, उहाँले भन्नुभयो, “प्रयोगशालाले अम्लियपन, नाइट्रोजन, फसफोरसलगायतका माटोमा हुने तत्वको खोजी गर्नेछ ।” माटोको सुधारका लागि कुनै तत्व उपलब्ध गराउनुपर्ने भएमा नगरपालिकाले निःशुल्क उपलब्ध गराउने कार्यक्रम बनाएको छ ।
“किसानले खेती गर्ने माटोको विषयमा जानकारी राख्नु जरुरी हुन्छ”, प्राविधिक शर्मा भन्नुहुन्छ, “नगरपालिकाले किसानका लागि दिएको यो राम्रो अवसर हो ।” प्रत्येक वडाबाट १८ देखि २० जनासम्म किसानले नमूना सङ्कलन गर्ने विधि सिकेका छन् । उनीहरुकै सहायतामा परीक्षणका लागि नमूना सङ्कलन हुनेछ ।
“एकै वर्ष सबै जमिनको परीक्षण नसकिएला तर यो निरन्तर प्रक्रिया हो”, नगरप्रमुख पौडेलले भन्नुभयो, “हाम्रो उत्पादकत्वको अवस्थाका विषयमा केही जानकारी अवस्य हुन्छ ।” लामो समय एकै किसिमका बाली लगाउने र माटोको अवस्था नबुझी खेती गर्दा उत्पादन कम हुने उहाँ बताउनुहुन्छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस