वैज्ञानिक ढङ्गबाट फोहोरमैला व्यवस्थापन गर्न माग
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न निर्माण गरिएको बञ्चरे ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका बासिन्दाले वैज्ञानिक ढङ्गबाट फोहोरमैला व्यवस्थापन गर्न माग गरेका छन् । स्थानीयवासीले नयाँ बन्दै गरेको बञ्चरेडाँडा दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइटलाई वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न माग गरेका हुन् ।
फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नं २ र धादिङको धुनिबेंसी नगरपालिका वडा नं २ को बीचमा पर्ने बञ्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइट बनाउने कार्य अन्तिम चरण पुगेको छ ।
प्रभावित क्षेत्रका बासिन्दाले फोहोरमैला वैज्ञानिक तवरबाट व्यवस्थापन गर्न सरोकार पक्षसँग आग्रह गरेका छन् । सोह्र वर्षदेखि काठमाडौँ, भक्तपुर र ललितपुरको फोहोर सिसडोलमा थुपारिँदै आएको छ । सो अवधिमा काठमाडौँ महानगरपालिकाले १८ बँुदे सम्झौता कार्यान्वयन नगरेर जनस्वास्थ्यलाई प्रतिकूल असर पर्ने गरी अवैज्ञानिक तरिकाबाट फोहोरमैला व्यवस्थापन गरेको स्थानीयवासीको आरोप छ ।
ककनी – ३ का वडाध्यक्ष घननाथ बजगाईँले फोहर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसलाई वैज्ञानिक तबरबाट उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले सम्बन्धित वडा कार्यालयसँग सहकार्य नगरी फोहोर ल्याउने काम भइरहेको आरोप लगाउनुभयो ।
ककनी –२ का वडाध्यक्ष केदार पौडेलले जुन ठाउँमा फोहोर फाल्ने हो, सो क्षेत्रका जनतासँग सम्झौता हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
ककनी – ३ का श्रीराम ढुङ्गाना प्रभावित १३ गाउँको तीन हजार मिटर अधिग्रहण गरेर व्यवस्थापन गर्नुपर्ने माग गर्नुहुन्छ । स्थानीयवासी युवक दिनेश कार्कीले विगतका मागलाई पूरा नगरेसम्म बञ्चरेडाँडामा फोहोर फाल्न नदिइने चेतावनी दिनुभयो । स्थानीयवासी रामभक्त बस्नेतका अनुसार सो क्षेत्रमा रोगका कारण मर्नेको गणना भएको छैन । फोहोरका गाडीले किचेर मात्र १९ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । सो क्षेत्रमा फोहोर फाल्नका लागि पूर्ण रुपमा निषेध गर्न युवाहरु लागिरहेको उहाँले जानकारी दिनुभयो । धादिङ, धुनीबेंसी नगरपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले पनि वैज्ञानिक र व्यवस्थित तरिकाले फोहोर व्यवस्थापन नगर्ने हो भने यस क्षेत्रमा फोहोर फाल्न नहुने बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस