• जीवनशैली | Jiwanshaili
  • तोकिएको बिदा समेत पाउँदैनन् तल्लो तहका प्रहरी


    मुलुकको शान्ति-सुरक्षा र अमनचयन कायम गर्न अग्रपङ्क्तिमा खटिने तल्लो तहका प्रहरी कर्मचारीले उचित सेवा, सुविधा र सम्मान प्राप्त गर्न सकेका छैनन् ।

    प्रहरी कर्मचारीले आफ्नो बिदाको पूरा सदुपयोग गर्न पाएका छैनन् भने तोकिएभन्दा बढी समय कार्य क्षेत्रमा खटिन बाध्य भएको पाइएको छ । धेरैजसो प्रहरी दैनिक १२ देखि १८ घण्टासम्म कार्य क्षेत्रमा खटिन्छन् । वार्षिक प्राप्त हुने ४२ दिनको बिदामध्ये अधिकांशले १५ दिन मात्रै प्राप्त गरेको एक अध्ययनले देखाएको छ ।

    बीचैमा आफ्नो पेशा छाडेर पलायन हुन बाध्य हुनुमा यो एउटा महत्वपूर्ण कारण भएकोे प्रहरी वरिष्ठ अधिकृतको बुझाइ छ । यसका अलावा गरेका कामको सामाजिक सम्मान प्राप्त हुन नसक्दा पनि प्रहरीले पेशालाई दीर्घ सेवामा रुपान्तरण गर्न सकेका छैनन् । यसैले उनीहरुको उत्प्रेरणा जगाउनुपर्ने आवश्यकता अध्ययनले औँल्याएको छ । उनीको अवस्थाका विषयमा माथिल्लो तहबाट बेलाबेलामा सुधारका प्रयास भए पनि प्रभावकारी हुन सकेको देखिँदैन । अहिले पनि प्रहरी बीचैमा जागिर छाडेर जानेक्रम कायमै छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री प्रहरीभित्र विविध समस्या रहेकाले आमूल सुधारको आवश्यकता रहेको स्वीकार गर्नुहुन्छ ।

    प्रहरी सुधारका विषयमा प्रहरी प्रधान कार्यालयले हालै एक अध्ययन सम्पन्न गरेको छ । “उक्त अध्ययनले प्रहरीले जागिर छाड्नुपर्ने कारणबारे पनि औँल्याएको छ”, प्रहरी महानिरीक्षक थापाले भन्नुभयो, “सामाजिक सम्मान कति छ, त्यसले पनि जागिर छाड्ने प्रवृत्तिलाई प्रभावित गर्ने रहेछ, गरेका राम्रा काममा सामाजिक सम्मान प्राप्त भयो भने प्रहरीले आफ्नो सेवालाई दीर्घसेवामा रुपान्तरण गर्ने थिए ।” कार्यालयले गर्ने उचित मूल्याङ्कन पनि प्रहरी उत्प्रेरणाको अर्को महत्वपूर्ण आधार हो ।

    प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्ररेणा अभिवृद्धि योजनाअन्तर्गत हालै गरिएको उक्त अध्ययनले उनीहरुलाई सामाजिक सम्मान प्रदान गर्न र माथिल्लो तहका अधिकृतसँग सहज पहुँच बढाउँन सुझाव दिइएको जनाइएको छ । यसैगरी मिसनलगायत विभिन्न कार्यक्रममा सहभागि हुने प्रक्रियालाई पारदर्शी बनाउनसके आत्मसम्मान बढ्ने र सेवाभाव वृद्धि हुने देखाएको छ ।

    अध्ययनले प्रहरीको आगामी मार्गदिशा तय गर्न सघाएको बताउने प्रहरी महानिरीक्षक थापा बिदालाई व्यवस्थापन र बढुवा, सरुवा तथा मिसनमा खटिने प्रहरी चयनको मापदण्डलाई पारदर्शी गर्नुपर्ने टड्कारो आवश्यकता छ, भन्नुहुन्छ । उक्त योजनाअनुसार प्रहरी प्रधान कार्यालयले आवश्यक सुधारका प्रक्रिया समेत शुरु गरेको जनाएको छ ।

    अध्ययन प्रतिवेदनले कार्य क्षेत्रमा खटिने प्रहरी हवल्दार र प्रहरी जवानमध्ये अधिकांशले १५ दिनभन्दा कम मात्र बिदा पाएका छन् । प्रहरी कर्मचारीले त्यस्तो बिदा न्यूनतम ४२ दिन पाउँछन् ।
    प्रहरी प्रधान कार्यालयले अब भने अनिवार्य न्यूनतम ३० दिन घर बिदा र १२ दिन भइपरी आउने बिदासहित ४२ दिन बिदा पाउने व्यवस्था कार्यान्वयन गर्न लागेको छ । यसका लागि सूचना प्रविधि निर्देशनालयले आवश्यक सफ्ट्वेयर विकास गरी मानवस्रोत एवं प्रशासन विभागमार्फत नियमित निगरानी गर्ने व्यवस्था मिलाइएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।

    अध्ययनले कार्यक्षेत्रमा खटिएका अधिकांश प्रहरी हवल्दार र प्रहरी जवानले दैनिक १२ घण्टासम्म काममा खट्ने गरेका तथा केही प्रदेश र महानगरीय प्रहरी कार्यालयअन्तर्गत कार्य क्षेत्रमा १८ घण्टासम्म काममा खटिरहेको देखाएको छ ।

    ती अवस्थाको आवश्यक अध्ययन गर्न समिति गठन गरिएको र समितिको सुझावअनुरूप कार्यान्वयन गर्न लागिएको जनाउँदै उहाँ भन्नुहुन्छ, “अध्ययनले देखाएको कतिपय कुरा कार्यान्वयनको चरणमा गइसकेको र कतिपय कार्यक्रम लागू हुने चरणमा छ ।”

    उक्त अध्ययन विसं २०७६ भदौदेखि विसं २०७७ कात्तिकसम्म गरिएको थियो । प्रदेशका सीमित जिल्ला, छनोट भएको महानगर, प्रहरी गण, प्रहरी प्रधान कार्यालयलगायत नमूना छनोट गरी पूर्व प्रहरी र भर्खरै अवकाशप्राप्त प्रहरी गरी चार हजार ५४८ जनासँग सोधेर उक्त अध्ययन गरिएको थियो ।

    विगतमा पनि प्रहरी सुधारका कार्यक्रम भएका थिए । तर त्यो कागममा मात्रै सीमित थियो । अहिले गरिएको अध्ययनको प्रतिवेदनले औँल्याएका कुरा व्यवहारमै कार्यान्वयन होस् भन्ने धारणा तल्लो तहका प्रहरी कर्मचारीको छ । यति हुँदाहुँदै तल्लो तहका प्रहरी कर्मचारीको स्वभाव रुखो हुने गरेको, अपाच्य शब्द प्रयोग गर्ने गरेको गुनासो भने सर्वसाधारणबाट आइरहेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार