चिसो छल्न भेडीगोठ बेंसी झर्दै
चिसो मौसम शुरु भएसँगै रुकुमपूर्वका भेडी गोठाला भेडाको बथानसहित बेंसी झर्न थालेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका भेडी गोठाला भेडाको बथानसहित न्यानो ठाउँ खोज्दै बेंसीतिर झरेका हुन् । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा चिसो अत्यधिकमात्रामा बढेपछि न्यानो ठाउँ खोज्दै बेंसी झरेको जनाइएको छ । ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका र भूमे गाउँपालिकाका केही ठाउँका गोठाला भेडाका बथानसहित रुकुमपश्चिम सल्यान, रोल्पा, दाङ र सुर्खेतलगायतका ठाउँमा झरेका छन् । अत्यधिकमात्रामा बढेको चिसोका कारण यो समयमा जिल्लामै भेडा बाँच्न नसक्ने भएपछि न्यानो ठाउँ खोज्दै बेंसीतिर झर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं १० का विकास बुढामगरले बताउनुभयो ।
तकसेरामा चिसो अत्यधिक बढेपछि भेडाको बथानलाई रोल्पा झारेको बुढाले भन्नुभयो, “मैले यो वर्ष भेडाका बथानलाई रोल्पामै अड्याउँछु”, उहाँले भन्नुभयो, “थुप्रै टोली छ, अरुले सल्यान, दाङ, सुर्खेतसम्म पनि लैजानुहुन्छ ।” आउँदो फागुनको अन्तिमसम्ममा जता चरण क्षेत्र छ, त्यतै भेडा डुलाउने र चैत्रको महिना मात्र पुन गाउँ फर्कने उहाँले बताउनुभयो ।
यस्तै तकसेराकै अर्का ठकम घर्तीमगरको समूहले सल्यानमा भेडी बथान झारेको छ । ठकमको समूहमा आठ नौसयको हारहारीमा भेडा रहेका छन् । जिल्लाका सबै भेडी गोठालाले समूह बनाएर भेडाका बथान बेंसीमा झार्ने गरेको ठकम बताउनुहुन्छ । उहाँले पनि आगामी चैत महिनासम्मको बन्दोबस्त मिलाएर भेडी बथान सल्यान झारेको बताउनुहुन्छ । “चार महिनालाई पुग्ने रासन भेडालाई बोकाएर बेंसी झारेका हौँ”, उहाँले भन्नुभयो, “अब त जङ्गलमै खाने उतै बस्ने हो ।” भेडाकै ऊनबाट बनेका राडीपाखी ओढेर भेडाकै बथानमा दिनरात कटाउने गरेको उहाँको भनाइ छ ।
जिल्लामा यतिबेलाको चिसोले भेडा मर्ने भएपछि हरेक वर्षको कात्तिकको अन्तिम सातासम्ममा भेडाका बथान बेंसी झार्ने गरेको गोठाला बताउँछन् । प्रायजसो सबैले बेंसीतीर भेडाका बथान झारिसकेका छन् । अब गाउँमा एक दुई बथान मात्र रहेको र ती बथानलाई पनि बेंसी झार्ने तयारी छ । भेडाका लागि अनुकूल भएको चरण क्षेत्र खाज्दै निस्किएका गोठाला रातमा भेडाको बथानसँगै राडीपाखी ओढेर सुत्ने गर्दछन् । कात्तिकको अन्तिम साता गाउँबाट निस्केका गोठाला विभिन्न जिल्लाका खर्कमा भेडा डुलाउँदै चैतको महिना मात्र गाउँ फर्कने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका– १० का मैत्या घर्तीमगरले बताउनुभयो । फागुनको अन्तिम साता बाटो लागेपछि बाटोमा चर्दै चैतमा भेडाका बथान गाउँ पुग्ने गरेको घर्ती बताउछन् ।
एकै ठाउँमा बसेर भेडा पाल्नसक्ने खालको वातावरण नभएपछि नै घुमन्ते बनेर भेडापालन व्यवसाय गर्नुपर्ने बाध्यता रहेको पुथाउत्तररगङ्गा गाउँपालिकाका अर्का उमेश बुढाले बताए । पछिल्लो समय भेडालाई चरणका लागि थुप्रै ठाउँमा घुमाउनुपर्ने, सामुदायिक वनले गर्दा चरण क्षेत्रको अभाव, युवा पुस्ता विदेश पलायन हुनुलगायत कारणले भेडापालन व्यवसाय पनि धरापमा पर्दै गएको मैत्या घर्तीले बताए। पहिले प्रत्येकको घरमा एकसयको हाराहारीमा पालिने भेडा पछिल्लो समय हराउँदै गएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस