महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस
‘लैगिंक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय संकल्पका साथ महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस आजदेखि सुरु भएको छ।
संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने गर्छ। यस वर्ष नेपालले राष्ट्रिय संकल्पका साथ आज नोभेम्बर २५ देखि आगामी डिसेम्बर १० सम्म ‘लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान’ सञ्चालन गर्दै छ।
कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेको सन्दर्भमा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै लैंगिक समानताको स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व हो।
नेपालको संविधानले हिंसामुक्त न्यायिक समाजको परिकल्पना गरेको छ। नेपाल सरकार संविधानको यस मर्म र भावनालाई कार्यान्वयन गर्न लागि परेको सन्दर्भमा समाजका सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनार्थ अग्रसर हुनु पर्दछ। बोक्सी, छाउपडी, दाइजो तथा तिलक प्रथा जस्ता सामाजिक कुरीति, कुप्रथा र अन्धविश्वासलाई कानुनले निषेध गरेको भएतापनि अझै धेरै महिलाहरू हिंसा, विभेद र अपमानका पीडाबाट गुज्रिनु परिरहेको छ।
घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार, एसिड आक्रमणका साथै बलात्कार जस्ता जघन्य हिंसा निर्मुलन गर्ने सरकारका प्रयासहरू पूर्ण रूपमा सफल बनाउन समाजका सबै पक्ष त्यतिकै सक्रिय हुनु पर्दछ। कानुनले दण्डनीय बनाएका अपराधहरू समाजमा दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानुनी उपचारको व्यवस्था गराउन सरकार, सामाजिक संघसंस्था, मानवअधिकारकर्मी लगायत सम्बद्ध सबै पक्षले सहकार्य गर्दै हिंसाविरुद्ध लाग्नु पर्दछ।
हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाजको निर्माणका लागि महिलाहरूको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित सम्पूर्ण महिलाले आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण गरिनु पर्दछ। राज्यका सबै तह तथा संरचनाहरूमा लैगिंक मूलप्रवाहीकरण गरी लैगिंक उत्तरदायी शासन पद्धतिलाई संस्थागत गर्न आवश्यक छ।
नोबेल कोरोना भाइरस (कोभिड-१९)को महामारीले बालबालिका, किशोरी तथा महिलाहरूको जीवनलाई थप कष्टकर बनाएको देखिन्छ। अतः संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहले यस महामारीको रोकथाम नियन्त्रण र उपचारका लागि आवश्यक नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गरी आ-आफ्नो तर्फबाट भरमग्दुर प्रयास गर्नुपर्ने अवस्था आएको छ।
अन्तमा, महिला हिंसालाई निषेध र निरुत्साहित गर्दै लैगिंक समानतायुक्त, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ सबै अग्रसर हुन जरुरी छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस