प्रजातन्त्र सेनानी कामीको ८४ वर्षकाे उमेरमा निधन
प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आउनुभएका कामीको आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो ।
गत जेठदेखि उहाँमा दम र मुटुको समस्या बल्झिएको थियो । अस्वास्थ्यका कारण आफ्नै निवासमा कष्टकर जीवन बिताउँदै आउनुभएको थियो । नेपाली काँग्रेस जिल्ला कार्यसमिति लमजुङका सभापति भेषबहादुर पौडेलको उपस्थितिमा आज उहाँको अन्यष्टी गरिने जिल्ला कार्यसमितिका पूर्व सचिव आनन्द घिमिरेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “उहाँको निधनले हामीलाई दुःखी तुल्याएको छ ।” प्रजातन्त्र सेनानी कामीका एक छोरा, एक बुहारी, चार छोरी र छोरापट्टीको एक नाती हुनुहुन्छ । श्रीमतीको भने करिब दुई दशक अघि नै निधन भइसकेको छ । उहाँ नातीसँग बस्दै आउनुभएको पार्टीले जनाएको छ ।
प्रजातन्त्र सेनानी कामी बिपी स्मृति ट्रस्टद्वारा विसं २०७२ मा सम्मानित हुनुभएको थियो । घोइरो कामीले विसं २००६ मा राणा शासनको विरुद्धमा काँग्रेसको झण्डा देखाएर मुलुकमा प्रजातन्त्र स्थापनाको आह्वान गर्नुभएको थियो । विसं २००६ मा काँग्रेसद्वारा आह्वान गरिएको राणा शासनको विरुद्धमा झण्डा बोकेर जिल्लाको इशानेश्वर भेगमा गरेको प्रदर्शनको सम्मानस्वरुप प्रजातन्त्र आएपछि नवलपरासी जिल्लामा ३ कट्ठा जग्गासमेत बकस प्राप्त गर्नुभएको थियो ।
उक्त जग्गा बिक्री गरेर उहाँ यस जिल्लाको तत्कालीन इशानेश्वर गाविसको चिसङ्कु गाउँबाट लमजुङकै भोर्लेटारमा बसाइँसराइ गरेर बस्दै आउनुभयो । बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको निकट रहेर राजनीतिमा होमिएका घोइरो कामी काँग्रेसका साहासी, अनुशासित तथा इमान्दार कार्यकर्ताका रुपमा चर्चित हुनुहुन्थ्यो ।
त्यति बेला काँग्रेस नेता भट्टराईले घोएरो कामीको इमान्दारिता देखेर आफूले लगाएको कोट फुकालेर लाउन दिएको र कामीले उक्त कोटमा पैसा रहेछ भन्दै भट्टराईलाई पैसा फिर्ता गरेको प्रसङ्ग काँग्रेस वृत्तमा चर्चाको विषय बनेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस