योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा शाक्यको आज बिहान ४ बजे निधन भएको हो ।
डा शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष हुनुभएको थियो । उहाँ तत्कालीन अर्थमन्त्री डा रामशरण महतका पालामा अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा जिम्मेवारी वहन गर्नुभएको थियो ।
आयोगको सचिव बन्नुभएका डा शाक्य त्यसअघि तत्कालीन विज्ञान तथा वातावरण मन्त्रालयको सचिव हुनुभएको थियो । उहाँले योजना आयोगबाट शाखा अधिकृतका रूपमा ‘करिअर’ शुरु गर्नुभएको थियो । शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको थियो ।
स्व डा शाक्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले शाक्यलाई एक इमान्दार, कर्तव्यनिष्ठ, आर्थिक क्षेत्रका विज्ञका रूपमा स्मरण गर्नुभएको छ ।
गत कात्तिक २० गते डा शाक्य कोरोना सङ्क्रमण पुष्टि भएपछि २५ गते ग्लोबल अस्पतालमा भर्ना हुनुभएको थियो । त्यहाँ स्वास्थ्यावस्था जटिल भएपछि थप उपचारका लागि उहाँलाई यही मङ्सिर ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । मधुमेह र उच्च रक्तचापका बिरामी डा शाक्यलाई पछिल्लो समय मिर्गौलाको पनि जटिल समस्या देखिएको परिवार स्रोतले जनाएको छ । काठमाडौँको वटुटोल निवासी डा शाक्यका श्रीमतीसहित तीन छोरा र एक छोरी हुनुहुन्छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस