• जीवनशैली | Jiwanshaili
  • प्रयोगमा नआउँदै भत्कियो पर्खाल


    हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा निर्माण भएको फलामे ट्रससहितको पर्खाल प्रयोगमा नआउँदै भत्किएको छ । । सो बजारमा लाग्ने सोमबार हटियाका लागि नगरपालिकाले रु ४६ लाख ४४ हजार ६८६ लागतमा कृषि बजार योजनाअन्तर्गत पर्खाल निर्माण गरेको थियो । निर्माण सम्पन्न भएको हप्ता दिन नबित्दै भत्किएको स्थानीय बासिन्दाले जनाएका छन् ।

    उनीहरुले निर्माण कम्पनी अनिल मल्टी कम्पनी प्रालि मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोकले बलियो जग नबनाई पर्खाल उठाएकाले सम्पन्न भएको हप्ता दिन नबित्दै भत्किएको बताएका छन् । प्रत्येक हप्ताको सोमबार अर्खौलेमा हटिया लाग्ने गर्दछ । त्यहाँ १८ वटा ट्रसमध्ये गत असार २ गते परेको वर्षात्ले ट्रसको रिटेनिङ पर्खाल पूर्णरूपमा भत्काइदिएको थियो ।
    लगातारको वर्षाका कारण अर्खौलेमा निर्माण गरिएका अन्य ट्रसका दुईवटा रिटेनिङ पर्खालसमेत चर्किएर काम नलाग्ने भएको छ । यस्तै हाटबजारको सिरानमा बनाइएको ट्रसको कुनामा समेत वर्षाका कारण पहिरो झरेपछि भित्ताका पर्खाल र ट्रसका निर्माण गरिएका केही पिलरसमेत पुरेको छ ।

    विसं २००७ देखि चित्राको छाप्रोमा हरेक हप्ताको सोमबार हाट लाग्ने अर्खौले बजारलाई व्यवस्थित गर्न कृषि बजार योजना सञ्चालन गरिएको थियो । नगरपालिकाले आह्वान गरेको ठेक्काअनुसार निर्माण कम्पनीले हाटबजार लाग्दै आएको स्थानका चारवटा कान्लामा ट्रससहितको पर्खाल निर्माण गरेको थियो ।

    गत असार २१ गते सम्पन्न गर्ने शर्तमा विसं २०७७ वैशाख ३१ गते सम्झौता गरेको निर्माण कम्पनीले केही दिन ढिला गरी योजनाको काम पूरा गरेको थियो ।
    ठेकेदार कम्पनीले कम लागतमा ठेक्का हालेर कमसल निर्माण सामग्री प्रयोग गरेर संरचना निर्माण गरेकाले प्रयोगमा नआउँदै भत्किएको स्थानीय व्यापारी किशोर श्रेष्ठले दाबी गर्नुभयो । “कमजोर संरचना बन्दैछ भनेर हामीले पटक–पटक आवाज उठायौँ, तर हाम्रो कुरा सुनिएन”, उहाँले भन्नुभयो, “बिलोमा ठेक्का हालेर रु पाँच लाख बाँडेर काम गर्दा पर्खाल भत्किएको हो । ट्रस निर्माण गरेर बजार लगाउने ठाउँको भित्ता खस्दा उक्त ठाउँभन्दा माथिल्लो भागमा रहेको मगर बस्ती नै जोखिममा परेको छ ।”

    निर्माण गरेको केही हप्तापछि नै ट्रसको रिटेनिङ पर्खाल भत्किएपछि नगरपालिकाका इञ्जिनीयरले गत साउन ४ गते स्थलगत निरीक्षण गरेर प्राविधिक प्रतिवेदन तयार पारेका थिए । निर्माण कम्पनीले भत्किएको पर्खालको पुनः निर्माणमा चासो नदिँदा उक्त हाटबजार क्षेत्र अहिले खण्डहरजस्तै देखिएको छ ।

    कमजोर संरचनाका कारण नभई भारी वर्षाका कारण जमिन गलेर पहिरो जाँदा ट्रसको पर्खाल भत्किएकाले तत्काल पुनःनिर्माण गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “काम सम्पन्न गरे पनि प्रयोगमा नआउँदै उक्त पर्खाल भत्किएपछि धरौटीवापतको रकम भुक्तानी दिएका छैनौँ”, उहाँले भन्नुभयो, “तत्काल पुनःनिर्माण गरेर सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई भनिसकेका छौँ ।”

    अर्खौलेमा निर्माण गरिएका संरचना प्राविधिक त्रुटिका कारण भत्किएको र पुनःनिर्माणका लागि नगरपालिकाले अहिलेसम्म कुनै पहल नगरेको ठेकेदार कम्पनीका अध्यक्ष अनिल स्याङ्बोले बताउनुभयो । भत्किएको पर्खाल पुनःनिर्माणका लागि नगरपालिकाको लिखितपत्र आएपछि काम थालिने उहाँकोे भनाइ छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार