• जीवनशैली | Jiwanshaili
  • अस्पतालमा उपकरण तथा जनशक्ति कमी हुन नदिइने :मन्त्री रावत


    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले स्थानीय तहमा सञ्चालित अस्पतालमा अत्यावश्यक उपकरण तथा जनशक्तिको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको बजेडीचौरमा निर्माण हुने १५ श्ययाको अस्पतालको आज शिलान्यास गर्दै उहाँले भौतिक पूर्वाधारका साथै विशेषज्ञ चिकित्सकलगायतका स्वास्थ्य जनशक्तिको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने दिनका रुपमा इतिहासले आजको दिनलाई सम्झिने बताउनुभयो ।

    सरकारले सातवटै प्रदेशमा सरुवा रोग अस्पताल तथा अस्पताल नभएका ३९६ स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माणको शुरुआत गरेको हो । नयाँ बन्ने सबै अस्पताल एउटै डिजाइनका हुनेछन् । “अस्पतालका भवनहरु मात्र होइन, गाउँमै विशेषज्ञ पठाउने हाम्रो तयारी छ, दक्ष स्वास्थ्यकर्मी र औषधि उपकरणको व्यवस्थापनमा सरकार चुक्ने छैन्”, उहाँले भन्नुभयो, “आधारभूत स्वास्थ्य सेवाका लागि नेपालगञ्ज, काठमाडौँ लगायतका शहरमा धाउनुपर्ने बाध्यता अब हट्नेछ ।

    सुर्खेत–२ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका राज्यमन्त्री रावतले यसअघि यहाँका वीरेन्द्रनगर लाटीकोइलीस्थित नगर अस्पताल, बराहताल अस्पताल, पञ्चपुरी अस्पताल र चौकुनेस्थित भेरी कर्णाली अस्पतालको शिलान्यास गरिसक्नुभएको छ ।

    भवन निर्माण शिलान्याससँगै भौतिक पूर्वाधार र न्यूनतम जनशक्ति भएका स्वास्थ्य संस्थाहरुमा राज्यमन्त्री रावतले अस्पतालका रुपमा विशिष्टीकृत सेवाको पनि शुभारम्भ गर्नुभयो । सरकारले १५ श्ययाको अस्पतालका लागि निर्माणको शुरुआतका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट निकासा पठाइसकेको छ । प्रतिअस्पताल रु १८ करोड क्रमागत रुपमा बजेट आउने सुनिश्चित भइसकेको र दुई वर्षभित्र भवन निर्माण पूरा हुने उहाँले प्रस्ट पार्नुभयो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार