• जीवनशैली | Jiwanshaili
  • बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन


    विसं २०१५ मा नेपाली कांग्रेसका नेता बिपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुट्नुभएका योद्धाको आज निधन भएको छ । रत्ननगर नगरपालिका–१, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षका उमेरमा निधन भएको हो ।

    कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाका अनुसार पौडेलले २०१५ सालको निर्वाचनमा बिपीसँगै गीत गाउनुभएको थियो । उहाँले भन्नुभयो, “इन्क्लाब दाजुभाइ जिन्दावाद भनन, तिमी पनि दाजुभाइ काँग्रेसै बनन’ भन्ने गीत गाउँदै चर्चामा आउनुभएको थियो ।
    विसं १९८५ वैशाख ३० गते बाग्लुङको बिनामारेमा जन्मिनुभएका पौडेलले भारतको वनारसबाट शास्त्री अध्ययन गर्नुभएको थियो । उहाँले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी १० महिना कारागार जीवन बिताउनुभएको थियो । विसं २०३६ को जनमतसङ्ग्रहमा रत्ननगरका पार्टी उपाध्यक्ष, २०४६ सालको आन्दोलनमा कांग्रेस र संयुक्त जनमोर्चाका रत्ननगर संयोजक र २०४४ देखि २०५६ सालसम्म कांग्रेस रत्ननगरका सभापति हुनुभएको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    आफ्ना पिताको चुनावमा समेत खटिनुभएका पौडेलको पार्थिव शरीरमा बिपी पुत्र एवं काग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

    पौडेलका हाल तीन छोरा र दुई छोरी हुनुहुन्छ । महामन्त्री कोइरालाले आजै रत्ननगरमा दिवङ्गत हुनुभएका कांग्रेस नेता कृष्णप्रसाद पौडेलको पार्थिव शरीरमा घरमै पुगेर पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । विसं १९९३ फागुन १० गते बाग्लुङको अमलाचौरमा जन्मिनुभएका पौडेलले २००७ देखि २०१७ सालसम्म पटकपटक कारागार जीवन बिताउनुभएको थियो । विसं २०४६ को जनआन्दोलनमा उहाँको टाउकामा गोली लागेको कांग्रेस चितवनले जनाएको छ । उहाँका दुई छोरा र चार छोरी हुनुहुन्छ । दुवैको आजै देवघाटमा अन्त्येष्टि गरिएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार