• जीवनशैली | Jiwanshaili
  • स्याङ्जा प्रहरीको नौलो अभियान ‘आई लभ यु बुढी गुट नाइट’


    स्याङ्जा प्रहरीले नयाँ अभियानको शुरुवात गरेको छ । काम गर्ने प्रेरणाको पहिलो स्रोत घर–परिवार हो भन्ने बुझेका प्रहरी प्रमुख होबिन्द्र बोगटीले स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँगको मायालाई अझ गाढा बनाउन नौलो अभियान शुरु गरेका छन् । परिवारसँग राम्रो सम्बन्ध भएन भने मानसिक तनाब बढ्ने, दुईवटा विवाह गर्ने, जाँडरक्सी खानेजस्ता क्रियाकलाप बढ्दै जान्छ । समाज सुधारमा लागेका प्रहरीले पहिले आफ्नो घर सुधार गर्नुपर्ने र त्यसपछि समाज सुधारको पाटोतिर लम्कनुपर्ने भन्दै यस्तो अभियान लगाएको एसपी बोगटीले जानकारी दिए ।

    बोगटीले ल्याएको नौलो अभियानमा प्रत्येक दिन सुत्ने बेलामा घर–परिवारसँग कम्तीमा पनि एक मिनेट फोनमा बोल्नै पर्ने र बोल्ने क्रममा ‘आई लभ यु बुढी वा छोराछोरी’ भन्नै पर्ने अभियान शुरु गरिएको छ ।

    परिवारसँगै हुनेले पनि साँझमा एकपटक यस्तो भन्नै पर्ने अभियान चलाइएको उनले बताए । यसो गर्नाले कम्तीमा दिनभरको थकाइमा केही राहत हुने र घर–परिवारसँगको सम्बन्ध पनि गाढा बन्दै जाने एसपी बोगटीको विश्वास छ । घर–परिवारसँग राम्रो सम्बन्ध भएन भने उत्साहका साथ काम गर्ने जाँगर नआउने भन्दै यसो गरिएको उनले दाबी गरे ।

    यति मात्रै होइन, यसरी घर–परिवारसँगको सम्बन्ध कस्तो छ, नियम पालना गरिएको छ कि छैन भनेर बेला–बेलामा प्रहरी कर्मचारीको घर–परिवारलाई फोन गरेर सोध्ने गरेको पनि उनले जानकारी दिए ।

    उनका अनुसार महिनैपिच्छे दुई दिन बिदामा घर जान पाइने र घर टाढा हुनेले बढीमा ६ महिनामा घर बिदामा जानैपर्ने, एकमुष्ट ६ महिनामा जाँदा १८ दिन बिदा पाइने पनि उनको कथन छ । दुई/तीन वर्ष घर जान नपाउने र कहिलेकाहीं मात्रै फोन गर्दा परिवारसँगको सम्बन्धमा निकटता नहुने भन्दै पारिवारिक निकटताका लागि यसो गरिएको बोगटीको तर्क थियो ।

    पारिवारिक सम्बन्ध राम्रो नहुँदा हातहतियार आफैसँग हुने प्रहरीहरुले ती यन्त्र आफैमाथि प्रयोग गरेका समाचार कहिलेकाहीं सुनिने गरिन्छ । पारिवारिक सम्बन्धका कारण प्रहरी जवानहरुले आत्महत्या गर्ने प्रवृत्ति पनि रोकिएर जाने उनले बताए ।

    काठमाडौं प्रहरी परिसर टेकुमा बस्दा अब्बल प्रहरी अधिकृतको छवि बनाएका एवं महानगरीय अपराध महाशाखामा समेत काम गरेको अनुभव बटुलेर स्याङ्जाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै बोगटीले यहाँका आपराधिक क्रियाकलापमा सक्रिय फरार अभियुक्तलाई पक्राउ गर्ने काममा तीव्रता दिएका छन् ।

    जिल्ला आएदेखि नै ऐतिहासिक काम गर्न सफल भएका बोगटीले एकै दिन १ सय ११ जना फरार अभियुक्त पक्राउ गरेर जिल्लामा मात्रै होइन, देशकै लागि नमुना प्रहरी प्रमुख बनेका छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार