म त पेटमै सङ्क्रमित भएर जन्मिए, मेरो के दोष ?
कैलालीको लम्कीचुहाकी १४ वर्षीया बालिकालाई विद्यालय जान मन लाग्दैन । कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयमा साथीहरुले एचआइभी सङ्क्रमित भएकै कारण छुट्टै व्यवहार गर्छन् । लामो समय बिरामी भएर बालिकाका बुवाको निधन भयो । बुवाको निधनपछि आमा र बालिकाको स्वास्थ्य परीक्षण गर्दा एचआइभी सङ्क्रमण पुष्टि भयो ।
आमाछोरी दुवैले टीकापुर अस्पतालबाट एआरटी सेवन गरिरहेका छन् । लम्कीकै एक सामुदायिक विद्यालयमा अध्ययनरत बालिकासँग अन्य बालबालिका बस्न, खेल्न, सँगै खाजा खान मान्दैनन् । मसँग साथीहरु नजिक आउनै मान्दैनन्, मलाई अपराधीजस्तो गर्छन्, बालिकाले भन्नुभयो, म चार वर्षको हुँदा सङ्क्रमण पुष्टि भयो । म त पेटमै सङ्क्रमित भएर जन्मिएकीरहेछु भन्ने पछि थाहा भयो । सङ्क्रमित हुनुमा मेरो के दोष ?
बालिका विद्यालयमा गरिने विभेदका कारण पढाइमा रुचि नजागेको बताउनुहुन्छ । म नियमित विद्यालय जादिनँ, आमाले पढ्नुपर्छ भन्नुहुन्छ, बालिका भन्नुहुन्छ, हामी चार भाइबहिनी छौँ, हामीलाई हुर्काउन आमालाई निकै दुःख भएको छ । पढेर जागिर खाएर आमा पाल्न मन छ तर विद्यालय जाँदा निकै तनाव हुन्छ ।
जोशीपुरका १३ वर्षीया बालक ४ कक्षामा पढ्छन् । बालकका बुबाआमा दुवैको निधन भइसकेको छ । ज्येष्ठ नागरिक हजुरबुवाको संरक्षणमा रहेका बालकलाई पनि विद्यालयमा गरिने विभेदले असह्य हुन्छ । “म पढाइमा राम्रो छु । सधैँ कक्षामा तृतीय स्थान ल्याउँछु, विद्यालयमा मेरा कोही साथी छैनन्, बालक भन्नुहुन्छ, ‘‘मेरो नजिक कोही आउनै मान्दैनन्, अनि मलाई पनि कक्षामा बस्न मन लाग्दैन । म नियमित विद्यालय जान्नँ । नियमित पढेको भए म प्रथम हुन्थेँजस्तो लाग्छ ।
एचआइभी एड्सको प्रभावकारी रोकथाम, हेरचाह तथा उपचार सेवासम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिए पनि सङ्क्रमितले अहिले पनि विभेद भोगिरहेको नवजीवन एकता समाजका अध्यक्ष जगत् भण्डारी बताउनुहुन्छ । “हामीले सङ्क्रमित बालबालिकाको शिक्षा आर्जन सहज गराउन लामो समयदेखि काम गरिरहेका छौँ, तर समस्या समाधान भएको देखिँदैन, भण्डारी भन्नुहुन्छ, सङ्क्रमित अभिभावकका बालबालिका र स्वयं सङ्क्रमित बालबालिकाको निःशुल्क शिक्षाका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा पहल गरेका छौँ ।
उनीहरुलाई आवश्यक कापी किताब, पोशाकका लागि पनि सक्दो सहयोग गरिरहेका छौँ । भण्डारीको पहलमा कैलालीको टीकापुरका तीनवटा होटलमा बालबालिकाको शिक्षामा सहयोग सङ्कलन पेटिका राखिएका छन् । “तीन पेटिकामा वार्षिक जम्मा भएको रकम सङ्क्रमित बालबालिकालाई सहयोग गर्छौँ, अध्यक्ष भण्डारीले भन्नुभयो, “एचआइभी सङ्क्रमितलाई समाजमा गरिने विभेद अन्त्य हुनुपर्छ । अन्य नागरिकसरह सङ्क्रमितले पनि समाजमा बस्न, रमाउन, काम गर्न पाउनुपर्छ ।
यसका साथै सङ्क्रमितलाई अन्य नागरिकभन्दा बढी पोषण, आराम र उपचार आवश्यक पर्ने भएकाले उनीहरुको जीविकोपार्जनका लागि सबै सहयोगी बन्नुपर्ने उहाँको माग छ । कैलालीको टीकापुर अस्पतालबाट ५१६ जनाले एआरटी सेवन गरिरहेका छन् । तीमध्ये २९० महिला, १८४ पुरुष र ४२ बालबालिका छन् ।
एएचएफ नेपालका मदन परियार सङ्क्रमितमा महिलाको सङ्ख्या धेरै रहेको बताउनुहुन्छ । श्रीमान् बितेपछि एकल भएका महिला तथा तीनका बच्चा सङ्क्रमित हुँदा उनीहरुको जीविकोपार्जनमा समस्या भएको छ”, परियार भन्नुहुन्छ, एकल भएका सङ्क्रमित महिलालाई खानकै समस्या छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस