अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ- ‘कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ बिहीबार अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । यो नारा नेपालका लागि नेपाल सरकारले तय गरेको हो ।
अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरस सङ्क्रमण महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चिताका लागि जोड दिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् ।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चिपत गरेको, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ निर्माण भएको तथा नेपाल सरकारले यसको कार्यान्वयनका लागि ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७’ समेत जारी गरिसकेको जनाउँदै राष्ट्रपतिले यी संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सबै सुविधा र अवसरमा समान पहुँच स्थापित गरिनुपर्नेमा जोड दिएकी छन् ।
उनीहरूलाई क्षमता र आवश्यकतानुसारका रोजगारमूलक एवम् सीपमूलक तालीम प्रदान गरी आत्मनिर्भर बनाउने तथा तिनको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा सहज पहुँच स्थापित गर्न अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको राष्ट्रपतिले ध्यानाकर्षण गराएकी छन् ।
अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्द्धन तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने गरिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस