• जीवनशैली | Jiwanshaili
  • सही मार्गमा सुन्दर र सफल जीवन


    जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र दुःखसुखमा साथ दिन्छ उही नै असल साथी हुन्छ ।

    साथीहरु धेरै हुन्छन्, हामीलाई कुन असल छ भन्ने थाहा भने हुँदैन, जसले राम्रो कुरा सिकाउँछ, अगाडि बढ्न प्रेरणा दिन्छ त्यस्तो साथीसँग मात्र सङ्गत गर्नुपर्छ ।परिवारमा पनि आमाबुबा, दाइ दिदीलगायतका धेरै सदस्य हुन्छन् । किशोर प्रायः दाजुभाइसँग नजिक हुन्छन् भने किशोरी दिदीबहिनीसँग नजिक हुन्छन् ।

    परिवारमा जसले आफूलाई माया गर्छ, जसले आफूसँग साथीजस्तै व्यवहार गर्छन् उनैसँग नजिक हुने गरीन्छ। यो उमेरमा साथीजस्तै व्यवहार गर्ने आफन्त होस् भन्ने लाग्छ, कुरा नबुझ्ने परिवारका सदस्यको नजिक जान मन लाग्दैन । अभिभावक पनि साथीजस्तै होस् भन्ने चाहना हुन्छ ।घरमा किशोरावस्थामा पुगेका आफ्ना बालबालिकालाई सही बाटोमा हिँडाउन र उनीहरुलाई गलत बाटोमा जान नदिन उनीहरुसँग खुलेर कुरा गर्ने, उनीहरुका कुरा गम्भीर भएर सुन्ने काम गर्नुपर्ने अभिभावककाे जिम्मेवारी हुनपर्छ ।

    हरेक अभिभावकले छोराछोरीको सङ्गतका बारेमा ध्यान दिने र साथीभाइजस्तो व्यवहार गर्ने हो भने किशोरावस्थाका बालबालिकालाई गलत बाटोमा जानबाट जोगाउन सकिन्छ । अधिकांश आमाबुबाले छोराछोरीलाई त्रासमा राख्ने तथा साना साना गल्तीमा गाली गर्ने गर्दा उनीहरुमा झन गलत धारण आउन सक्छन् ।

    किशोरावस्थाका बालबालिकालाई सही मार्गनिर्देशन गर्न विद्यालयको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । विद्यालयमा शिक्षक शिक्षिकाले किशोरावस्थाका बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण गर्ने, उनीहरुलाई राम्रा नागरिकको उदाहरण दिएर शिक्षण गर्ने र राम्रो काम गर्न उत्प्रेरणा प्रदान गर्नुपर्ने हुन्छ । बालबालिकाका ससाना कुरालाई पनि नियालेर ध्यान दिने र साथीजस्तै व्यवहार गर्ने हो भने यो अवस्थाका बालबालिका शिक्षकसँग नजिक हुन्छन् । अनि सबै कुरा शिक्षकसँग आदानप्रदान गर्ने गर्छन् ।

    किशोरावस्था एक संवेदनशील र परिवर्तनको अवस्था भएकाले पनि उनीहरु हरेक गोप्य कुरा अरुसँग बाँड्न चाहँदैनन्, त्यसैले उनीहरु यस्तो अवस्थामा एक सही र विश्वासिलो साथीको खोजीमा हुन्छन् जो तपाइँ, हामी हुन सक्छौँ । दशदेखि १९ वर्षको उमेरलाई किशोरावस्था भनिन्छ, यो उमेर समूहका व्यक्ति धेरै जिज्ञासु र चञ्चले हुन्छन् । उनीहरू कुनै पनि विषयमा सजिलै निर्णय गर्न सक्दैनन् ।

    किशोरावस्थामा बालबालिकालाई सही, गलतको पहिचान नभए जीवन दुःखदायी हुनसक्छ । किशोरकिशोरीले यो समयमा गलत सही थाह नपाउने हुन्छ, जसलाई पनि विश्वास गर्न सक्छन् । उनीहरुमा विभिन्न मानसिक समस्या देखिन सक्छन् ।विकका अनुसार किशोरावस्थामा बालबालिकालाई विभिन्न खाले तनाव हुनसक्छ । कम उमेरमा देखिने मानसिक समस्याले उसको भविष्य अन्धकारतर्फ जानसक्छ ।

    तनाव व्यवस्थापनका लागि उनीहरुले मनको कुरा खोल्ने वातावरण घर र विद्यालयमा हुनु पर्दछ । किशोरकिशोरी गलत सङ्गतजस्ता कारणले गलत बाटोमा लाग्ने जोखिम हुन्छ । उनीहरुलाई गलत कार्यमा लाग्नबाट जोगाउन सबभन्दा बढी सचेत अभिभावक हुनुपर्छ ।बालबालिका गलत होस् या सही दुवै काम जिज्ञासु भएर गर्छन्, उनीहरुलाई सही गलतको पहिचान हुँदैन जसले गर्दा लागुऔषधमा पसेकाे पाइन्छ । यस्तो बेला उनीहरुलाई सुरक्षित स्थानसमेत थाहा हुँदैन ।

    अभिभावक सचेत हुने हो अनि विद्यालयले पनि बालबालिकाको हरेक आनीबानीको निगरानी गर्नुपर्छ । उनीहरुका लागि घरमा पनि बालमैत्री वातावरण भएमा व्यस्त राख्न सकिन्छ । बालबालिकामा विभिन्न थरिका भावना गुम्सिएर रहेका हुन्छन् । ती भावना सही समयमा सही व्यक्तिसँग पोख्न पाइएन वा सही सञ्चार हुन सकिएन भने उनीहरुमा विकराल अवस्था सिर्जना हुन सक्ने ।

    मनमै कुरा खेलाउने वा गुम्साएर राख्ने बालबालिका नकारात्मक बाटोमा हिँड्न सक्ने सम्भावना रहन्छ । बालबालिका गलत बाटोमा लागे घर, समाज र देशको विकासमा बाधा पुग्छ । घर संसार सुन्दर बनाउन सन्तान असल हुनुपर्छ, त्यसैले बालबालिकालाई सही सूचना दिने, सही मार्ग देखाउने जिम्मा सबैको हो ।बालबालिका सही मार्गमा हिँडे जीवन सुन्दर र सफल हुन्छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार