• जीवनशैली | Jiwanshaili
  • हुम्लामा जिप दुर्घटनाः चारको मृत्यु, ७ जना घाइते


    हुम्ला- हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक बच्चासहित ७ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकै शुक्रबार राती लु २ च २१०२ नम्बरको जिप दुर्घटना भएको हो ।

    सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाडाफयामा राती ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    मृत्य हुनेमा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीया डुकी तामाङ र डुकीका श्रीमान ४५ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी हुम्लाका प्रहरी उपरिक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।

    घाइते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् । घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    जिप सडकभन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्वार गरेका थिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार