नौ महिनापछि ढोरवाराही मन्दिर खुला
दमौली- तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही मन्दिर नौ महिनापछि भक्तजनका लागि खुला भएको छ । शनिबार शुक्लागण्डकी नगरपालिकाले क्षमासहितको बहाली पूजा गरेपछि भक्तजनलाई खुला गरिएको ढोरवाराही क्षेत्र संरक्षण समितिका अध्यक्ष एवं शुक्लागण्डकी–९ का अध्यक्ष लोकनारायण श्रेष्ठले बताए ।
उनका अनुसार नगरपालिकाले मन्दिरमा बोका बलि दिएको छ । चैतबाट लकडाउन भएदेखि मन्दिर भक्तजनका लागि बन्द थियो । नगर कार्यपालिका बैठकले स्वास्थ्यको मापदण्ड अपनाएर मन्दिर खुलाउने निर्णय गरेसँगै भक्तजनलाई खुला गरिएको उनले बताए । “मन्दिर बन्द भए पनि भक्तजन आइरहन्थ्ये, कतिले बीचमै बलि पनि दिएको देख्यौँ, तसर्थ खोल्ने निर्णय भयो”, वडाध्यक्ष श्रेष्ठले भने ।
वडा नं ९ बाजस्थलमा रहेको ढोरवाराही मन्दिरलाई भगवान विष्णुको तेस्रो अवतारका रुपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । यसर्थ टाढा टाढाबाट भक्तजन आउँछन् ।
जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर रहेको छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ । मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुईजोर शिला छन् । पोखरीमा कम्तीमा पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमय लहरी ९पानी घटबढ० हुनुले ढोरवाराही मन्दिरप्रतिको आस्थालाई अझ बढाएको छ ।
पोखरीको मूलबाट पानीको ठूलो भल आउँछ । एकैछिनमा फेरि स्वतःघट्दै जान्छ । यसरी यहाँको पोखरीमा लहरी छुट्नुलाइ धार्मिक आस्थासँग जोडिएको छ । ढोरवाराही माता प्रसन्न हुँदा लहरी छुट्ने धार्मिक कथन छ । मन्दिरमा चल्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने गरिन्छ ।
मन्दिरमा बडादशैंको नवदु्र्गा, चैतेदशैँको नवदुर्गा, नयाँ वर्षको दिन, वैशाख महिनाभर, श्रीपञ्चमी र हिउँदयाममा भक्तजनको ओइरो लाग्ने गर्दछ । मनले चिताएको पूरा हुने जनविश्वासका साथ मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।
यस मन्दिरलाई हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर समेत मानिँदै आएको छ । हिमवत्खण्ड पुराणमासमेत चर्चा गरिएको ढोरवाराही मन्दिरमा देवीको चर्तुवाहु मूर्तिसमेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टसमेत छन् । ढोरवाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ । उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरवाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस