दुई किलो मिटरका दूरीमा दुई पक्की पुल
दमौली- व्यास नगरपालिका–८ रिस्तीमा दुई किमिको फरकमा दुई पक्की पुल निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् वडा नं ८ मा दुई पक्की पुल निर्माण शुरु गरिएको हो ।
वडा नं ८ र लमजुङको मध्यनेपाल नगरपालिका–१ तथा वडा नं ८ र मध्यनेपाल नगरपालिका–२ जोड्ने रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु गरिएको छ । उक्त पुलको दूरी दुई किलोमिटर रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए । “दुवै ठाउँमा पुलको अति आवश्यकता रहेकाले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् योजना परेर पुल निर्माणको काम शुरु गरिसकेका छौ”, ढुङ्गानाले भने । व्यास–८ र मध्यनेपाल–१ जोड्ने पुल निर्माणका लागि रु चार करोड ४७ लाख २९ हजार ५३६ मा सम्झौता भएको छ । विसं २०७६ पुस २३ गते सम्झौता भएको पुल विसं २०७८ असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।
पुल निर्माणको ठेक्का रोशन कन्स्ट्रक्सन लिमिटेडले पाएको छ । बाउन्न मिटर लामो पुल निर्माणका लागि सरकारले चालू आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको ढुङ्गानाले जानकारी दिए ।
यस्तै असोज तेस्रो सातादेखि व्यास–८ सोतीबेँशी र लमजुङको मध्यनेपाल–२ सोतीपसल जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ढुङ्गानाले डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी वाइएसएस हिम निर्माण सेवा जेभी काठमाडौँसँग सम्झौता भएको जानकारी दिए ।
रु चार करोड १६ लाख ४५ हजार ८४० को लागतमा निर्माण हुने पुलको लम्बाई ४० मिटर र चौडाइ ८।४ मिटर रहेको छ । सिङ्गल बिम पुल निर्माणका लागि रु पाँच करोड ३५ लाख २६ हजार दुई सयको इष्टमेट गरिएको थियो ।
पुल निर्माणका लागि विसं २०७७ असार ७ गते सम्झौता भएको थियो । विसं २०७८ पुस ७ गतेभित्र पुल निर्माण सम्पन्न हुनेछ । पक्की पुल नहुँदा दुई जिल्लाका स्थानीयवासीलाई आवतजावत सास्ती हुँदै आएको थियो । पक्की पुलको अभावमा घण्टौ हिँडेर आवतजावत गर्नुपर्ने बाध्यता पुल निर्माण भएसँगै हट्ने भएपछि स्थानीयवासी खुशी भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस