• जीवनशैली | Jiwanshaili
  • विदेशी पनि बेवारिसे…


    काठमाडौं- विसं २०७२ पुसमा चितवनको रामनगरबाट स्थानीयवासीले एक महिला सडकमा अलपत्र रहेको जानकारी गराए । तत्कालै मानवसेवा आश्रमकी सुशीला केसी नेतृत्वको टोली उद्धारका लागि खटियो । महिलाको शरीरभरि कमिलाले ढाकेको थियो । हातको घाउ कुहिएर कीरा परेको थियो । घाउको गन्धले वरिपरि जानै मुश्किल पर्ने अवस्थाबाट ती महिलालाई मानव सेवा आश्रमले उद्धार गर्‍यो ।

    तत्कालै उनको भरतपुर अस्पताल लगेर शल्यक्रिया गरियो । “घाउ त एउटा समस्या थियो, उहाँ मनोरोगीसमेत हुनुहुन्थ्यो”, तत्कालीनावस्था स्मरण गर्दै केसीले भिनन्न्नुर, “विस्तारै उपचार, माया, प्रेम, थेरापी र काउन्सिलिङ गर्दा उहाँको जीवनमा आमूल परिवर्तन आयो ।” ती महिलाको नाम गीता मानव राखियो । उनी स्वस्थ त भइन् तर बोलेको भाषा बुझ्न सकिएन । आश्रमकी आमा खिमा काफ्लेले उनको भाषा बङ्गाली भनेर पत्ता लगाइन् । विस्तारै जानीनजानी बङ्गाली बोलेर उनको ठाउँठेगाना पत्ता लगाउने क्रममा उनी बङ्गलादेशी यकिन गरिएको काफ्ले सुनाउँछिन् ।

    बस्दाबस्दै गीता अहिले थोरै नेपाली भाषा बुझ्न थालेकी छिन् भने हिन्दीमा समेत कुरा गर्छिन् । अहिले दुवैथरिलाई भाषा बुझ्न सजिलो भयो । बङ्गलादेशको राजधानी ढाका नजीकै घर भएकी उनी पाँच सन्तानकी आमा भएको पत्ता लागेको छ । केही अघि मात्रै उनलाई नेपालस्थित बङ्गलादेशको राजदूतावासको टोलीले समेत भेटेर घर पुर्‍याउने आश्वासन दिइसकेको छ । गीता छिट्टै घरमा पुनर्स्थापित हुँदै छिन् । उनी आफ्नो परिवारसँग भर्चुअलमा नियमित कुराकानी गर्ने गरेको उनको रेखदेखमा खटिने अभियानकर्मी नीता केसी सुनाउँछिन् । घरबाट घुम्न निस्कने क्रममा हराएको उनको परिवारले बताएको छ ।

    उनी भारत काटेर कसरी बङ्गलादेशबाट यहाँ आइपुगिन् अझै यकिन गर्न सकिएको छैन । पहिले गीतालाई रेखदेख गर्नुपथ्र्यो तर अहिले उनले नै अन्य असहायको रेखदेख गर्न थालेकी छिन् । आश्रमको एउटा सदस्य नै बनेकी गीतालाई घर पठाउने आश्रमलाई मन थिएन तर उनको परिवारको खुशीका कारण पुनः स्थापित गराउन लागिएको छ ।

    केहीअघि काठमाडौँबाट उद्धार गरिएका अर्का व्यक्ति पनि बङ्गलादेशबाट आएको पत्ता लागेपछि दूतावासको सहयोगमा परिवारमा पुनःस्थापित गरिएको छ । भारतबाट आएर बेवारिसे हुनेहरु भने धेरै भेटिइसकेका छन् । केही वर्षअघि भारतको पटना नजीकैको एउटा बस्तीमा आश्रम टोली पुगेरै भारतीयको पुनःस्थापना गरिएको थियो ।

    मर्‍यो भनेर माया मारेको छोरा हराएको १२ वर्षपछि घरमा आउँदा परिवारले हर्षका आँशु खसालेको थियो । अहिले पनि आश्रमको बूढानीलकण्ठ शाखामा एक विदेशी छन् । उनले प्रयोग गर्ने भाषा कुन होे भन्ने पत्ता लगाउन सकिएको छैन । कसैले कोरियाली भनिएरहेका छन् त कसैले चिनियाँ भएको बताउँदै आएका छन् । विदेशी नागरिक नेपाल घुम्न आउँदा कुनै समस्या परेर अलपत्र हुनु र रोग लागेर थलिनु त एउटा कुरा हो तर नेपालका सडकमा मनोरोगी भएर विक्षिप्तावस्थामा विदेशी नागरिकसमेत यत्रतत्र भेटिएका छन् । त्यसमा अधिकांश भारतीय फेला पर्ने भए पनि तेस्रो मुलुकका नागरिकसमेत नेपालका सडकमा अलपत्र हुने गरेको तथ्य खुलेको छ ।

    उनीहरु सडकमा कसरी आइपुगे भन्ने यकिन छैन तर ३३० भन्दा बढी विदेशी मनोरोगीको सडकबाट उद्धार भइसकेको आश्रमका प्रवक्ता सुमन वर्तौलाले जानकारी दिए । उनीमध्ये पाँच जना तेस्रो मुलुकका छन् भने अन्य सबै भारतीय हुन् । तीमध्ये तीन बङ्गलादेशीसहित ४८ जनाको पारिवारिक पुनःमिलन भइसकेको छ । हाल आश्रममा रहेका एक हजार १०० असहायमध्ये १९८ विदेशी रहेको जनाइएको छ । विसं २०६९ देखि सडकमा रहेका मनोरोगी एवं बेसहाराको उद्धार गरी संरक्षण दिँदै आएको आश्रमले अहिलेसम्म झण्डै ७०० व्यक्तिको परिवारमा पुनःमिलन गराइसकेको छ । पछिल्लो समयमा सरकारले आश्रमसँग सहकार्य गर्दै आगामी सालभित्र मुलुकलाई नै सडक मानवमुक्त देश बनाउने उद्घोष गरेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार