आमाको किरिया गर्दै छोरी
चितवन- समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै महिला अधिकारका क्षेत्रमा अग्रणी मीना खरेल यतिबेला आमाको किरियामा छिन् । सोह्र वर्षअघि पनि उनले बाबुको किरिया गरेर काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यताको विरुद्ध उभिएकी थिइन् । त्यसयता धेरै छोरीले बाबुआमाको किरिया गर्ने गरेका छन् ।
छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै अधिकारकर्मी खरेलले दाजुहरुसँगै आमाको किरिया बसेका हुन् । गत मङ्सिर २३ गते ८६ वर्षको उमेरमा आमा झगडी खरेल ९पार्वती० को मृत्यु भएपछि अधिकारकर्मी खरेल आफ्ना दाजु युवराज खरेलसँगै कोरामा बसेकी हुन् ।
समाज परिवर्तनको संवाहक छोरी पनि हुन सक्छ भन्ने मान्यताअनुसार आफू किरिया बसेको उनले बताइन् । उनले भनिन्, “बाबुआमाप्रति छोराछोरी दुवैको बराबर अधिकार र जिम्मेवारी रहन्छ ।”
मीनाले आमाको शवको अन्तिम संस्कार गरिन्, चितामा दागबत्ती दिइन् र सेतो कपडा लगाएर कोरामा बसेकी छिन् । बाबुको किरिया बस्दा मीनालाई कोराभित्र बस्न परिवारले नदिए पनि मीनाले शास्त्रीय नियमअनुसार बाबुको मृत्यु संस्कार गरिन् । त्यसपछि हिन्दूसंस्कारअनुसार बाबुको श्राद्ध मीना आफैँले गर्दै आएकी छिन् । ५५ वर्षीया अविवाहित मीनालाई यसपालि भने किरियामा बस्न परिवारले रोकेन ।
पण्डितले पनि शास्त्रमा छोरो छोरी समान भन्ने उल्लेख भएको जनाएपछि मीनालाई आफ्नो इच्छाअनुसार बस्न सहज भयो । “समय परिस्थिति बदलिँदै जाँदा छोरीले पनि छोरासरह मृतक बुबाआमाको काजकिरिया गर्नु सकारात्मक पक्ष हो” अधिवक्ता फुलमाया रानाभाटले भनिन्, “बुबाआमाको पालनपोषण र अन्तिम संस्कारमा छोरीको सहभागिताले सांस्कृतिक परिवर्तन गरेको छ ।” भरतपुर महानगरपालिका–४ लकु घर भएकी स्व पार्वती खरेलका नौ छोरी र तीन छोरा छन् । स्व खरेल आफैँ पनि सामाजिक अभियानमा तल्लीन थिइन् । रासस
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस