• जीवनशैली | Jiwanshaili
  • घरलाई सुन्दर र स्वस्थ बनाउने होम हाइजिन टिप्स


    घर हाम्रो आधारभुत आवश्यकताहरु मध्येको एक हो । समय परिवर्तन हुँदैछ, साथै घरको बनावट र सजावट पनि । हिजोआज घरको बनावट र सजावटमा मात्र होइन मानिसहरु घरको स्वच्छता अर्थात होम हाइजिनमा समेत विचार गर्न थालेका छन् । बद्लिदो मौसम अनुसार होम हाइजिनमो विषेश ध्यान पुर्‍याउनु पर्छ जसका कारण घर किटाणु मुक्त भइ सुरक्षित रहन मद्दत पुग्छ । हाम्रो जिवनशैली व्यस्त भएतापनि हामीले केहि सजिला टिप्सहरु अपनाउन सक्छौँ जसले हाम्रो घरलाई सुरक्षित राख्छ र साथमा हामीलाई पनि ।

    १. डोर हाइजिन :

    हाम्रो घरलाई स्वस्थ राख्नको लागि डोर हाइजिन आवश्यक हुन्छ । ढोका, जहाँबाट हामी घरभित्र पस्छौँ र बाहिर निस्कन्छौँ । बाहिर निस्कदा होस् या भित्र पस्दा, हामीले ढोकामा छुने गर्छौँ । यसरी हातले छोइरहने हुँदा ढोकामा विभिन्न व्याक्टेरियाहरु टाँसिन्छन् र ती व्याक्टेरियाहरु हाम्रो हात हुँदै मुखसम्म पुगी हामीमा संक्रमण समेत फैलिन सक्छ । हाल कोभिडबाट बच्न, अन्य संक्रमणबाट बच्न र घरलाई स्वस्थ राख्नका लागि डोर हाइजिन अति नै आवश्यक छ । डोर हाइजिनका लागि ढोकालाई समय समयमा सफा गर्नुपर्छ । धेरै पटक ढोका प्रयोग हुँदा डोर बेल र ह्यान्डलमा किटाणु बस्न सकिने भएकोले डोर बेल र डोर ह्यान्डललाई समय समयमा स्यानिटाइज गर्नुपर्छ । ढोकाको बाहिर अनिवार्य रुपमा डोर म्याट राख्नु पर्छ, यसो गर्दा जुत्तामा टाँसिएको माटो म्याटमा सफा हुने र घर भित्र माटो तथा धुलो पस्न पाउँदैन र घर स्वस्थ अनि सफा रहन मद्दत पुग्छ ।

    २. किचन हाइजिन :

    भान्छा हाम्रो घरको एकदम महत्वपुर्ण कोठा हो जहाँ हामी खान्छौँ । स्वस्थ भइ बाँच्नका लागि स्वस्थ खाना खान जरुरी हुन्छ भने स्वस्थ खाना बनाउने र पकाउने भान्छा कोठा पनि स्वस्थ हुनु अति आवश्यक हुन्छ । भान्छा कोठाको स्वच्छताका लागि भान्छामा खाना पकाउँदा र तरकारी केलाउँदा निस्किएका फोहोरको सहि व्यवस्थापन गर्नुपर्छ । भान्छाका यस्ता फोहोरहरुलाई व्यवस्थापन गर्दा सफा, दर्गन्ध रहित, किटाणु मुक्त र स्वच्छ हुन्छ । भाँडाकुँडा धोइसकेपछि केहि समय घाममा सुकाउनाले त्यसमा भएका किटाणुहरु मर्छन् र भाँडाकुँडा सफा र स्वच्छ हुन्छ । भान्छामा प्रयोग भएका किचन टावलहरुलाई हरेक दिन धुने घाममा सुकाउने गर्नुपर्छ ।

    ३. बाथरुम हाइजिन :

    अनिवार्य रुपमा सफा गरिनुपर्ने अर्को ठाँउ भनेको बाथरुम हो । कुनै समय घरभित्र बाथरुम नबनाइनुको कारण भनेको घरका सदस्यहरुमा संक्रमण नफैलियोस् भन्ने हो । त्यस समयमा बाथरुम हाइजिनका कुराहरु प्रचलनमा थिएन पनि । तर अहिले बाथरुम घरभित्र मात्र होइन कोठा कोठामा समेत बनाउन थालिएको छ । मलमुत्र विसर्जन गरिने, धुने नुहाउने कारणले किटाणुहरु फैलिने जोखिम हुने भएका हुँदा सरसफाईमा विशेष ध्यान दिनुपर्छ । बाथरुम सफा र सख्खा राख्नुपर्छ । बाथरुमको भेन्टिलेशन खुल्ला राख्नुपर्छ । बाथरुम प्रयोग गरेपछि राम्ररी फ्लस गर्ने र बाथरुममा प्रयोग हुने सामानहरु व्यवस्थित गरेर राख्ने गर्नुपर्छ । बाथरुममा एन्टि व्याक्टेरियल सफाईका प्रोडक्ट, सप्रे र एयर फ्रेसनरको प्रयोग गर्नुपर्छ । हामी बाथरुममा टुथ पेस्ट र ब्रस राख्छौँ तर ब्रस र टुथ पेस्ट बाथरुमको बाहिर राख्नुपर्छ ।

    ४. समग्र घरको सफाई :

    घरलाई स्वस्थ र सफा राख्नका लागि समग्र घरको सफाई गर्नु जरुरी हुन्छ । घरमा प्रयोग गरिएका फर्निचरको सफाइका लागि एन्टि व्याक्टेरियल स्प्रेको प्रगोग गर्ने र हातले छोइने फर्निचरहरुमा समय समयमा स्यानिटाइज गर्नुपर्छ । झ्याल, दराज, चिया टेवल, डाइनिङ्ग टेवल, पलङ्ग जस्ता फर्निचरमा बारम्बार सम्पर्कमा आउने भएकाले यस्ता फर्निचरहरुको सफाईमा विशेष ध्यान दिनु पर्छ । घरको वरपर पानी जम्न नदिने र समय समयमा घरको वरपर राम्ररी सफाई गर्ने गनु पर्छ । कोठाका पर्दा, सोफा, तन्ना आदिमा जम्ने मसिना धुलोका कणहरुलाई भ्याकुमको माध्यमले सफा गर्नु पर्छ । घरका सबै कोठामा संभव भएसम्म एन्टि व्याक्टेरियल लिक्विडको प्रयोग गरी पोछा लगाउने । यसो गर्दा मसिना धुलोका कणहरु हाम्रो शरिर सम्म पुग्न पाउदैन र संक्रकण हुने सम्भावना निकै न्युन हुन्छ । बच्चाको खेलौनाहरुमा पनि किटाणुहरु हुने हुनाले खेलौनाहरु समेत समय समयमा सफा गर्नु पर्छ । घरमा जडान गरिएका प्लकहरुमा पनि सफाई आवश्यक हुन्छ । घरलाई स्वस्थ र स्वच्छ बनाउन घरका झ्याल ढोका खालेर हावा चल्न दिनु पर्छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस