चिनी मिलका सञ्चालक अग्रवाल पक्राउः आठ करोड भन्दा बढी बक्यौता तिर्न बाँकी
काठमाडौं- उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि आज बिहान सर्लाही पठाएको जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई सर्लाही पठाइएको छ ।
उनका अनुसार सर्लाहीका उखु किसानले रु १७ करोड दाबी गर्दै अग्रवाललाई पक्राउ गर्न दिएको निवेदनका आधारमा काठमाडौँमा पक्राउ गरेर जिल्ला पठाइएको हो । अग्रवाल सञ्चालक रहेको दुई चिनी मिलले उखु किसानलाई रु आठ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।
गृह मन्त्रालयको तथ्याङ्कअनुसार सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलको रु १७ करोड र नवलपरासीमा रहेको इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख गरी दुई चिनी मिलले रु २१ करोड ७० लाख बक्यौता रकम रहेको थियो । उक्त रकममध्येमा मङ्गलबार साँझसम्म अन्नपूर्णले रु १२ करोड ६३ लाख ७२ हजार र इन्दिराले रु ८३ लाख गरी रु १३ करोड ४६ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ ।
लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत मङ्सिर २८ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन शुरु गरेका थिए । आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । उक्त सहमतिअनुसारको समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगले अझै उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन् ।
यसअघि प्रहरीले बक्यौता रकम भुक्तानी नगरेको भन्दै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई वीरगञ्जबाट प्रक्राउ गरिएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस