राजधानीमै दलितमाथि विभेद : कानुनमा स्नातक गरिरहेका विद्यार्थीलाई समेत डेरा दिन इन्कार
काठमाडौं । २ फागुनमा करुणा विश्वकर्मा धापासी हाइटस्थित कोठाबाट बाहिर निस्किएकी मात्र के थिइन्, उनले आफू बसेको घरबाट तीन घर पर फ्ल्याट सरिरहेका मान्छे देखिन् । बालबालिका स्कुल गइरहेका थिए । मान्छेहरू अफिस निस्किरहेका थिए । तर, करुणाको ध्यान फ्ल्याट सरिरहेको घर र मान्छेतिरै खिचियो । किनभने उनलाई फ्ल्याट चाहिएको थियो ।
फ्ल्याट सरिरहेका मान्छे सम्मुख पुगेर उनले सोधिन्, ‘फ्ल्याट खाली भएको हो ?’ घरको गेटमै पुगेकी करुणाले बाहिर निस्किँदै गरेका अधबैँसे महिला र पुरुषलाई सोधेकी थिइन् । उनीहरूले करुणालाई ‘अँ खाली भएको हो, हेर्नू न’ भने । उनीहरू घरबेटीका आफन्त रहेछन् । उनीहरूले घरबेटी पनि बोलाइदिए । फ्ल्याट हेरिन् । सेवासुविधा उनलाई राम्रै लाग्यो । भाडा भने महिनाको सोह्र हजार, पाँच सय रुपैयाँ पानी र फोहोरको, बिजुलीको बिल आफैँले तिर्नुपर्ने । त्यसपछि करुणा ‘बहिनीलाई सोध्छु, अनि तपाईंहरूलाई खबर गर्छु’ भनेर निस्किइन् । घरबेटीको नम्बर लिइन् ।
उनले बहिनीलाई भनिन्, ‘घर ठीकै छ, तर अलि महँगो छ ।’ एयरपोर्टमा जागिर गर्ने करुणाको बहिनीले ‘महँगै भए पनि हेरौँ न’ भनेपछि दुवै गए । बहिनीले कुरा मिलाइन्, १५ हजार रुपैयाँमा पक्का भयो । पछि कोठामा आएर फेरि करुणाले फोन गरिन् घरबेटीलाई, १५ हजारमै फोहोर र पानीको मिलाइदिनु भनिन् । घरबेटीले भने, ‘स्थायी तरिकाले बस्न आउनुहुन्छ भने आउनुस् न त ।’ भोलिपल्ट करुणा र उनकी बहिनी घरबेटीलाई भेट्न गए । घरको गेटमा ‘फ्ल्याट खाली छ’ भनेर पम्प्लेट राखिएको थियो । फोन नम्बर पनि थियो । घरको छतबाटै ३५/३६ वर्षीया घरबेटी महिलाले भनिन्, ‘सबै पक्का भयो । त्यो पम्प्लेट च्यातिदिनुस् । धेरै मान्छे आएर दुःख दिए ।’ करुणाले च्यातिदिइन् । ‘बहिनी अफिसबाट आएपछि एड्भान्स दिन्छु,’ भनिन् ।
तर, साँझमा बहिनी अफिसबाट आउन ढिला गरिन् । भोलिपल्ट बिहानै करुणाकी बहिनी कालीमाटी गइन् तरकारी किन्न । उनीहरूको धापासीमा तरकारी पसल पनि छ । बजारबाट फर्केपछि अफिस लागिन् । करुणा एक्लै गइन् एड्भान्स दिन । गएर घरको घन्टी बजाइन् । घरबेटी महिला झरिन् । एक हजार रुपैयाँ दिइन् करुणाले । घरबेटीले खल्तीमा हालिन् र सोधिन्, ‘कहिले सर्नुहुन्छ ?’ ‘केही दिनमा सर्छौं होला । सामान अलि धेरै छ ।’ यसपछि करुणा घरबाट निस्कन लागेकी थिइन् । बिएएलएलबी दोस्रो वर्षको परीक्षा ३ फागुनमा थियो उनको ।
अचानक घरबेटीले सोधिन्, ‘बहिनीहरूको थर के हो ?’ ‘विश्वकर्मा ।’ करुणा सुनाउँछिन्, ‘त्यो सुन्नासाथ उहाँको अनुहारै अर्को भयो । थाहा नपाएजस्तो गर्नुभयो । र सोध्नुभयो, ‘विश्वकर्मा भनेको…’ । मैले ‘विश्वकर्मा भनेको थाहा पाउनुभएन र ?’ भनेर सोधेँ । उहाँले ‘अँ, विश्वकर्मा भनेको…’ भनेर गम खानुभयो । मैले ‘विश्वकर्मा भनेको दलितभित्रको एउटा थर हो’ भनेँ । उनले ‘ए होर ?’ भन्नुभयो । अनि ‘त्यसो भए त….’ भन्नुभयो । त्यहीवेला उहाँको श्रीमान् तरकारी लिएर आइपुग्नु भयो । ती महिलाले भनिन्, ‘बहिनीहरूको जात त विश्वकर्मा रे । के गर्ने ? भाडामा दिने हो ?’ म महिलाको आमनेसामने थिएँ । श्रीमान्सँग आँखाको इसाराले बोलिन् । श्रीमान् भ¥याङ उक्लिए । यसपछि श्रीमतीले भनिन्, ‘सरी बहिनी, तपाईंहरूलाई घरभाडा दिन सक्दिनँ । पैसा फिर्ता लिनुस् ।’
तर, करुणाले पैसा फिर्ता लिइनन् । बरु सोधिन्, ‘थरले घरभाडामा लगाउन तपाईंलाई असर गर्छ र ? सार्वजनिक रूपमा गेटमा सूचना टाँस्नुभएको छ । हाम्रो सहमति भएको पनि चार दिन भयो । भाडामा नदिने अन्य बहाना पनि त होला ?’ तर, घरबेटीसँग जवाफ थियो, ‘त्यस्तो होइन बहिनी, गाउँमा बुबाआमा पनि हुनुहुन्छ ।’ नयाँ पत्रिका
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस