चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा
काठमाडौं- पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ ।
क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना शुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । आगामी बुधबारसम्म क्षमापूजा हुनेछ ।
रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो । वर्षौंँदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा शुरु भएको हो ।
वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको प्रचारप्रसार गलत रहेको कोषले जनाएको छ । चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको हो । सुनको जलहरी निर्माण पनि शुरु भइसकेको कोषले जनाएको छ । एक हप्तामा सुनको जलहरी राख्ने गरी काम भइरहेको छ ।
पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले रु ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ ।
सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ । गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई रु ३० करोड बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।
मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ । यसका लागि करीब ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ । रु ३० करोडबाहेकको रकम कोषले आन्तरिक स्रोतबाट व्यहोर्ने जनाइएको छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस