• जीवनशैली | Jiwanshaili
  • प्राचीन अभिलेख संरक्षण गरिनुपर्ने


    लेखन सामग्रीका रुपमा रहेका प्राचीन अभिलेखलाई संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

    राष्ट्रिय अभिलेखालयले आज यहाँ आयोजना गरेको ‘लेखन सामग्री एवं अभिलेखका प्रकार’ विषयक जुम अन्तरक्रिया कार्यक्रममा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले चट्टानअभिलेख, गुहअभिलेख, शिलालेख, शिलास्तम्भलेख, मूर्तिलेख, ढुङ्गेधारालेख, जलद्रोणीलेख, जलहरीलेखजस्ता प्राचीन सामग्रीलाई सुरक्षित राखिनुपर्ने बताउनुभयो । समयक्रममा यस्ता सामग्री नाश हुन सक्ने, बिग्रन सक्ने भएकाले यिनको संरक्षणका लागि अभिलेखालयले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

    पशुपति क्षेत्रमा रहेको जयदेवको अभिलेखलाई नेपालमा अहिलेसम्म प्राप्त सबैभन्दा ठूलो अभिलेख मानिन्छ । यसैगरी भक्तपुरको जङ्गम मठ क्षेत्रमा रहेको दुई पङ्क्तिको अभिलेखलाई हालसम्म प्राप्तमध्येमा सानो अभिलेख मानिएको जानकारी पनि कार्यक्रममा संस्कृतिविद् श्रेष्ठले गराउनुभयो ।

    अभिलेखालय प्रमुख सौभाग्य प्रधानाङ्गले यस वर्ष पुस १७ गतेदेखि विभिन्न विषयमा जुम माध्यमबाट अन्तरक्रिया शुरु गरिएको जानकारी दिनुभयो । कार्यक्रमलाई अब प्रत्येक महिना निरन्तरता दिइने जनाइएको छ । कार्यक्रममा अभिलेख अधिकृत रज्जु हाडाले अभिलेख उपशाखाले संरक्षणमा गरिरहेका काम एवं गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार