स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए
सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो दिन कैलालीको टीकापुर अस्पतालमा भएको बन्ध्याकरण शिविरमा २४ महिलाले मिनील्याप र एक पुरुषले भ्यासेक्टोमी गरी बन्ध्याकरण सेवा लिएका हुन् । त्यस्तै दोस्रो दिन जानकी गाउँपालिकास्थित दुर्गौली स्वास्थ्यचौकीमा भएको शिविरमा २२ महिलाले सेवा लिएका छन् ।
कैलालीको टीकापुरमा गत वर्ष ७१ महिलाले मिनील्याप सेवा लिएका थिए । यस वर्ष सङ्ख्या घटेको छ । नगरपालिकाले गाउँगाउँमा अस्थायी बन्ध्याकरण सेवा दिन थालेकाले पनि स्थायी बन्ध्याकरण गर्ने कम भएको हुनसक्ने बताइएको छ ।
बन्ध्याकरण शिविरमा डा स्मृति रावलको टोलीले सेवा दिइरहेको नेपाल परिवार नियोजन सङ्घ कैलालीका शाखा प्रबन्धक चेतराज फुलाराले जानकारी दिए । टीकापुरबाट शुरु गरिएको बन्ध्याकरण शिविर मङ्गलबार दुर्गौली स्वास्थ्यचौकीमा सञ्चालन भएको नेपाल परिवार नियोजन सुपरभाइजर निरीक्षक ओलटनारायण चापागाईँले जानकारी दिए । शिविर स्वास्थ्य कार्यालय कैलालीको आयोजना र नेपाल परिवार नियोजन सङ्घ कैलालीको सहकार्यमा सञ्चालन भएको हो ।
यस वर्ष स्वास्थ्य कार्यालयले टीकापुरबाट शुरु गरेर जानकी गाउँपालिकास्थित दुर्गौली स्वास्थ्यचौकी, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, भजनी प्राथमिक स्वास्थ्य केन्द्र, चुहा स्वास्थ्य चौकी, दोधरा स्वास्थ्यचौकी, साडेपानी स्वास्थ्यचौकी, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, हसुलिया स्वास्थ्यचौकी र मालाखेती अस्पतालमा सञ्चालन गरिने भएको छ । सोमबार टीकापुरबाट शुरु भएको बन्ध्याकरण शिविर फागुन २८ गतेसम्म चल्नेछ ।
गत वर्ष कैलाली जिल्लामा दुई पुरुषसहित २१४ जनाले बन्ध्याकरण सेवा लिएका थिए । कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषको सङ्ख्या निकै कम छ । “यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण बन्ध्याकरण शिविर सञ्चालनमा समेत ढिलाइ भयो”, नेपाल परिवार नियोजन सुपरभाइजर निरीक्षक चापागाईँले भने, “लामो अवधिको अस्थायी साधन प्रयोग गर्ने महिला बढेकाले स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्यामा पनि कमी आउँदै गएको छ । पहिला लामो अवधिको अस्थायी साधनको पर्याप्तता थिएन । गाउँमै स्वास्थ्य संस्था पुगेपछि महिलाले इम्प्लान्टलगायतका सेवा पाएका छन् ।” परिवार नियोजन सुपरभाइजर निरीक्षक चापागाईँका अनुसार पुरुषले बन्ध्याकरण गर्न चाहँदैनन् अर्थात् परिवार व्यवस्थापनमा पुरुषको तुलनामा महिलाको चासो बढी छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस