टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण
रुकुम पूर्व का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् ।
पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन् । ओखर खेतीलाई उन्नतरूपमा विस्तार गर्न जिल्लामा भर्खरै टर्कीबाट १९ हजार दाँते ओखरका कलमी बिरुवा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुकुम पूर्व, रोल्पा कार्यालयले टर्कीबाट १९ हजार ओखरको बिरुवा ल्याएको हो ।
कार्यालयले क्षेत्रगत आधारमा दुई जातको ओखरको बिरुवा ल्याएको कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौवेले जानकारी दिए । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकासँगै सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रका लागि फर्नर जातको पोथी र फर्नेट जातको भाले बिरुवा ल्याइएको डा चौवेले बताए । उनका अनुसार जिल्लाको तल्लो भेगका लागि भने चेन्डलर जातको पोथी र फ्याङ्क्विट जातको भाले बिरुवा ल्याइएको छ ।
अहिले ल्याइएका यिनै बिरुवाले आठ÷दश वर्षपछि मातृ बिरुवाको रूपमा काम गर्नेछन् । त्यसो भएमा बाहिरी देशबाट बिरुवा आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालयले जनाएको छ । कृषकको मागका आधारमा टर्कीबाट आयात गरिएका ओखरको बिरुवा कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिने डा चौवेले बताए। उनका अनुसार टर्कीबाट बिरुवा खरिद गर्दा प्रतिबिरुवा रु ४५० पर्न गएको छ । कृषकले भने ५० प्रतिशत अनुदानमा प्रतिबिरुवा रु २२५ तिर्नुपर्ने छ ।
रुकुम पूर्व को सिस्ने गाउँपालिका–३ बाहेक ३० वटै वडामा ओखर जोन कार्यक्रम लागू गरिएको छ । ओखर पाइने सम्भावित सबै क्षेत्रका कृषकलाई मागका आधारमा दाँते ओखरको कलमी बिरुवा वितरण भइरहेको कार्यालयले जनाएको छ । हाल जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुकुम पूर्व, रोल्पा कार्यालयको ओखर जोन कार्यक्रमअन्तर्गत क्षेत्र विस्तार र चक्लाबन्दीको कार्यक्रम सञ्चालन भइरहेको छ ।
ओखरका लागि रुकुम पूर्व उपयुक्त ठाउँ भए पनि सिँचाइ अभाव रहेको छ । सोही समस्यालाई मध्यनजर गर्दै कार्यालयले यस आर्थिक वर्षमा चक्लाबन्दी कार्यक्रममार्फत सिँचाइ योजनाको कामलाई अगाडि सारेको डा चौवेले बताएका छन । यस जिल्लामा ओखर खेतीको राम्रो सम्भावना भएकाले केही वर्षपछि यिनै बिरुवा हुर्किए भने ओखरखेतीबाट यहाँका नागरिकले मनग्य लाभ लिन सक्ने उनले बताए ।
जिल्लामा ओखर जोन कार्यक्रम लागू भएको पहिलो वर्षमा परीक्षणका लागि भारतको जम्मु काश्मिरबाट सात÷आठ हजारको हाराहारीमा बिरुवा ल्याइएको थियो । परीक्षण सफल भएपछि गत वर्ष टर्कीबाटै तीन हजार ८०० बिरुवा ल्याइएकोमा यस वर्ष १९ हजार बिरुवा ल्याइएको हो । यस कार्यालयबाट मात्रै २९-३० हजारको हारहारीमा दाँते ओखरको बिरुवा वितरण भइसकेको छ भने स्थानीय तह र विभिन्न सङ्घसंस्थाले पनि कृषकलाई अनुदानमा दाँते ओखरको बिरुवा वितरण गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस