पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन
प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको तातोपानीमा स्नान गर्नेको घुइँचो लागेको छ । विसं २०७६ चैत पहिलो हप्तादेखि बन्द भएको तातोपानी गत माघ १ गतेदेखि खुला गरिएको थियो ।
तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बन्दाबन्दी हुनुअघिकै सङ्ख्यामा पाहुना स्नानका लागि आउन थालेका बताए । “दश महिना बन्द भएको तातोपानी कुण्ड अहिले पुरानै अवस्थामा फर्किएको छ”, उनले भने, “कोरोनापछि यति धेरै मानिस आउँछन् जस्तो लागेको थिएन ।”
समितिको तथ्याङ्कअनुसार हाल तातोपानी कुण्डमा दैनिक एक हजार ५०० जनाले स्नान गरेका छन् । चाप बढेकाले तीन समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायत देशका सबैजसो जिल्लाबाट स्नान गर्न आउने गरेका छन् ।
तातोपानी बजारका होटल र घरबास पाहुनाले भरिभराउ भएका होटल व्यवसायी कुमार केसीले बताए । दुई सय घरधुरी भएको तातोपानीमा १० होटल छन् । सबैजसो घरमा घरबास सुविधा छ । होटलसँगै व्यापार व्यवसाय पुरानै लयमा फर्किएको व्यवसायी केसीले बताए ।
ज्वरो, रुघाखोकी लागेको हुननपर्ने र मास्कको प्रयोग अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाइएको छ । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट बिरेनूनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ ।
ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या निको हुने भएकाले तातोपानीमा स्नान गर्न आएको बागलुङको निसीखोला गाउँपालिका–४ की कली विकले बताए।
ग्यास्ट्रिक, बाथरोथ युरिकएसिड, ढाड दुख्ने, छालासम्बन्धी विविध रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस जस्ता स्वास्थ्य समस्या निको हुने गरेको बिरामी बताउँछन् ।

यस स्थानमा बिरेनून र गन्धक सल्फर तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान रहेको छ । गन्धक आफँैमा एक प्राकृतिक एन्टिबायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने अध्यक्ष शाक्यले बताए ।
एक दिनमा दुईपटक दुई दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, बलाङ्केट, प्लास्टिक, काम्लो आदि न्यानो कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ ।
तातोपानी कुण्डमा पुरुष र महिलाका लागि फरकफरक समय तालिका बनाइएको छ । गत आर्थिक वर्षमा बिरामीको प्रवेश शुल्क र चन्दा सहयोग गरेर समितिलाई कूल रु एक करोड २१ लाख आम्दानी भएको थियो । तातोपानी कुण्डमा विशेष गरेर असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा मानिसको घुइँचो लाग्ने गर्छ । कुण्डको आम्दानीले कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराइएको कुण्ड व्यवस्थापन समितिका कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले बताए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस