स्नातक उत्तीर्ण युवक व्यावसायिक भैँसीपालनमा
कविलासी नगरपालिका– १० सलेमपुरका एक युवकले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । स्नातक पढाइ पूरा गरेर जागिर नखाइ बाउबाजेले गर्दै आएको पशुपालन पेशालाई अगाडि बढाउँदै आएका रवीन्द्र यादवले गाउँमै कृषि फार्म खोलेर भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
बाबुबाजेले गर्दै आएको कृषि पेशालाई नै अगाडि बढाउनुपर्छ भन्ने सोंच लिएर बिबिएको पढाइ सकेर आफूले करीब एक वर्ष पहिलाबाट रु २५ लाख बैंकबाट ऋण लिएर हिम अमृत कृषि फार्म दर्ता गराई भैँसीपालन व्यवसाय शुरु गरेको उनले बताए । एक वर्षदेखि सञ्चालन गर्दै आएको फार्ममा पालिएका भैँसीबाट उनले राम्रो आम्दानी गर्दै आएका छन् ।
उनको कृषि फार्ममा अहिले ५० भैँसी, तीन राँगा, २५ वटा पाडापाडी र दुई गाई रहेका छन् । पच्चीस दुधालु भैँसी उनले फार्म मै राखेका छन् भने दूध दिन छाडेका २५ भैँसी गाउँकै स्थानीय किसानलाई पाल्न दिएको यादवको भनाइ छ । आफूले फार्ममा पालेका सबै पशुको पशु बीमासमेत गराइसकेको उनले बताए ।
गाउँमा पाल्न दिएका भैँसी ब्याएपछि पालेबापत केही रकम दिएर पुनःफार्ममा फर्काएर ल्याउने गरेको उनको भनाइ छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत पर्ने त्यस क्षेत्रको सुप्रशिद्ध चमेली माईको मन्दिर नजिक सडक छेउको आठ कट्ठा जग्गामा सञ्चालन भइरहेको उक्त कृषि फार्ममा पालिएका भैँसीको आहाराका लागि करीब साढे तीन बिघा जग्गा भाडामा लिएर घाँससमेत रोपेको उनको भनाइ छ ।
प्रत्येक दिन एउटा भैँसीका लागि करीब ५० किलो आहाराको आवश्यकतापर्ने गरेको उनले बताए । यसका लागि प्रतिभैँसी ३० किलो सुख्खा भुँस, १५ किलो हरियो घाँस र पाँच किलो दाना मिसाएर खाना तयार पारिन्छ ।
फार्मबाट दैनिक २०० लिटर दूध उत्पादन हुने गरेको छ । कृषक यादवले कृषि फार्ममा उत्पादन भएको दूध बजारसम्म पुर्याउनका लागि फार्मसँगै डेरी पनि खोलेका छन् । उक्त डेरीमा आसपासका स्थानीय किसानले उत्पादन गरेको दूधसमेत सङ्कलन गरी दैनिक करीब ५०० लिटरभन्दा बढी दूध जिल्ला सदरमुकाम मलङ्गवालगायतका ठूला बजारमा पठाउने गरेको तर पनि बजारको मागअनुसार पुर्याउन नसकिएको उनले जानकारी दिए ।
उनले कृषि फार्ममा दुई जना स्थानीय व्यक्तिलाई रोजगारीसमेत दिएका छन् । उनले अझै भैँसी थप्ने योजना रहेकोसमेत बताए । एक वर्ष पहिले करीब रु २५ लाख बैंकबाट ऋण लिएर शुरु गरेको व्यवसाय अहिले करीब रु एक करोड २५ लाख पुगिसकेको छ । दूध बिक्रीबाट राम्रो आम्दानी भइरहेकाले कृषि पेशाबाट आफू पूर्ण सन्तुष्ट रहेको यादवको भनाइ छ । युवाशक्ति सबै विदेश जानेक्रम चलिरहेका बेला उनी भने यस क्षेत्रका युवाका बीच गतिलो उदाहरण बनेका छन्।
पढेलेखेका युवालाई जागिर नपाएर वैदेशिक रोजगारीमा जानूभन्दा आफ्नै देशको भूमिमा रहेर कृषि क्षेत्रमा लाग्न उनको सुझाव छ । कृषिमा पशुपालन मात्र नभई व्यावसायिक तरकारी तथा फलफूल खेती, मत्स्यपालन, पोल्ट्री फार्म तथा कृषिसम्बन्धी अन्य विभिन्न क्षेत्रमा राम्रो सम्भावना रहेकाले आफूले गर्नसक्ने कुनै पनि एउटा व्यवसाय छनोट गरी त्यससम्बन्धी तालीम लिइ दक्षता हासिल गरेर अगाडि बढ्न उहाँले युवालाई सुझाव दिएका छन् ।
कृषि व्यवसाय सञ्चालन गर्न सरकारले किसानलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ । बेलाबेलामा अनुदान दिने र ऋणको ब्याजमा समेत सहुलियत दिने गरेकाले कृषि पेशा अरु पेशाभन्दा सुरक्षित रहेको कृषक यादवको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस