राउटे युवा भन्छन्: नाेकरी पाए हुन्थ्यो
चार दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले कोरोना भाइरस सङ्क्रमणका बेला राउटे परिवारलाई छाक टार्न धौधौ भएको दुखेसो पोखे ।
बन्दाबन्दीमा गाउँमा ज्याला मजदुरीसमेत पाउन छाडेपछि खाद्यान्नको निकै समस्या भएको बताउँदै राउटे युवक मानसिंहले आफूहरु पनि जागिर खान इच्छुक रहेको जानकारी दिए । ‘गाउँमा ज्यालादारी गर्न नसकिएपछि केही दिन जङ्गलको कन्दमुललगायतको भरमा बाच्यौँ’, उनले भने, ‘लोपोन्मुख भन्ने तर राहत भने सरकारले दिएन ।’
उनले सरकारी निकायमा पियन पदमा भए पनि जागिर खाने मनसायमा रहेको बताउँदै राउटेले गाउँमा मजदुरी पाउन छाडेपछि चिन्तामा रहेको बताए । ‘पहिले त दिनभरि काम गरेर बेलुका चामल किनेर लग्थेँ’, उनले भने, ‘कोरोना कम भए पनि गाउँमा मजदुरी भएन भने कसरी बाँच्ने?’
भीमदत्त–९ ब्रह्मदेव र खल्लामसेटीमा गरी पाँच परिवार राउटे समुदाय रहेका छन् । डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी आएका राउटे समुदायका लागि समाजमा कुनै खाले अवसर र सुविधा नरहेको अर्का नैनसिंह राउटेको दुखेसो छ । ‘हाम्रा छोराछोरी पढ्न सकेनन्’, उनले भने, ‘वन जति सामुदायिक वन भए अब परिवारको जोहो कसरी चलाउने भन्ने चिन्ता भइरहन्छ ।’ उनले सेनाको श्री नं २५ बाहिनी अड्डाबाट मिलेको चामल एक महिनासम्म खान पुग्ने बताए ।
‘लकडाउनभरि एकपटक मात्रै राहत मिल्यो’, उनले भने, ‘त्यो बेला उधारोमा रासन किनेर खायौँ । ‘नैनसिंहले सरकारबाट पाउँदै आएको भत्ताले घरको केही हदसम्म खर्च टर्ने गरेको बताए । राउटे समुदायका युवायुवतीलाई आयमूलक काममा लगाउन सीपमूलक कार्यक्रम गाउँमा ल्याउनुपर्ने उनको भनाइ थियो । ‘अहिले हामी गाउँमा घर बनाउने काममा बढीजसो ज्यालादारी गरिरहेका छौँ’, उनले भने, ‘बन्दमा भारत गएर मजदुरी गर्ने अवस्था पनि भएन ।’
भीमदत्त–९ का वडाध्यक्ष राम नाथले आफ्नो वडामा एक दर्जन राउटे परिवार रहेको बताए । ‘शुरुमा चार परिवार थिए, सबै वनमा गएर काठका भाँडाकुँडा बनाएर किनबेच गर्थे’, उनले भने, ‘अहिले वनमा आश्रित छैनन् ।’ उनले सङ्घीय सांसद विकास कोष र जनता आवास कार्यक्रमको साझेदारीमा सात परिवार राउटेलाई पक्की घर निर्माण गरिएको बताए।
‘अहिले पनि अरु बाँकी राउटेको घर बन्ने योजनामा छ’, उनले भने, ‘उनीहरुको रोजगारी भनेकै गाउँमा जाला मजदुरी गर्ने हो ।’ राउटे परिवारका सदस्यले मासिक रु तीन हजार भत्ता सरकारबाट पाउने गरेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस