अब उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने
मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो ।
अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । केन्द्रको परीक्षण सकिएपछि नयाँ र पूरानो दुवै पोखरीमा पानी पठाइनेछ । नयाँ पोखरीमा गएको पानीले पाइपको परीक्षण गरिनेछ भने पूरानो पोखरीको पानी तत्काल प्रणालीमा जानेछ । उनले भने, “पुरानो पोखरीको पानी पुरानो पाइपमार्फत वितरण हुनेछ ।”
अहिले सुरुङ परीक्षणको क्रममा छ । त्यो सकिएपछि प्रशोधन केन्द्र र त्यसपछि थोक वितरण प्रणाली पाइपलाइनको परीक्षण हुने खानेपानी मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बनेका नौ पोखरी र पहिलेबाट सञ्चालनमा रहेका छ पोखरीमा पानी सँगसँगै जानेछ । नयाँ पोखरीमा भरिएको पानीले चैतमा नै नयाँ पाइपलाइन परीक्षण शुरु हुन्छ । उनले भने, “परीक्षण सबै गरिसक्न दुईतीन महिना लाग्छ ।”
काठमाडौँ उपत्यकामा दुई सातापछि पानी आउँदा एकै पटक क्षमताअनुसारको पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सबै संरचना परीक्षणका क्रममा रहेकाले तत्कालका लागि थोरै परिमाणमा आउनेछ । त्यसलाई क्रमशः बढाउने योजना बनाइएको छ । काठमाडौँमा पानी आयो भन्नासाथ पूरै पानी एकैपटक नआउने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । मेलम्चीबाट पहिलो चरणमा आउने भनिएको दैनिक १७ करोड लिटर प्रणालीमा जान अझै केही समय लाग्ने उनले बताए । आयोजनाले सुरुङ र प्रशोधन केन्द्रको परीक्षण सकेर त्यताबाट पानी पोखरीमा पठाएपछि वितरण तत्काल शुरु गरिने उनले बताए । जति पानी पोखरीमा आउँछ त्यति नै धारामा पानी पठाइनेछ । उनले भने, “दैनिक पानी पठाइनेछ, पानी थपिँदै जाँदा घरघरमा जाने पानीको परिमाण पनि बढ्नेछ ।”
पोखरीमा कति मात्रामा पानी उपलब्ध हुन्छ त्यहीअनुसार दैनिक एक-दुई घण्टासम्म पानी वितरण गरिने लिमिटेडले जनाएको छ । परीक्षणका क्रममा समस्या नआएको पाइएमा हेरेर पानीको परिमाण बढाउँदै जाने गरी योजना बनाइएको छ । लिमिटेडअन्तर्गतका सबै शाखा कार्यालयको आआफ्नो फेसबुक पेजबाट कहिले कहिले पानी वितरण गर्ने भनी जानकारी दिने उनले बताए । सोही माध्यममा नै पानी नआउँदा सम्पर्क गर्र्ने व्यक्तिको समेत टेलिफोन नम्बर राखिनेछ ।
समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको उनले जानकारी दिए । कुनै पनि ठाउँमा चुहावट हुँदा तत्काल मर्मतका लागि निर्माण व्ययवसायी र आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ । उनले भने, “हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ ।”
मेलम्चीको पानी काठमाडौँ आइसकेको र त्यसको वितरणका लागि संरचनाको निर्माण भइसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जानकारी दिए । अबको केही साताभित्रै उपत्यकावासीले नियमितरूपमा पानी पाउने उनको भनाइ छ । मेलम्चीको पानी वितरणकै लागि उपत्यकाका विभिन्न स्थानमा गरी नौ केन्द्रबाट पानी प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । अहिले परीक्षणको काम भइरहेको उनले बताए । उनले भने, “धारामा धमिलो जाँदैन प्रशोधन गरेर सफा पानी जान्छ ।”
अहिले परीक्षणका लागि सुरुङमा जम्मा भएको पानी वाग्मतीमा जाने उनले बताए । सबै संरचनाको परीक्षण गरिएको पानी वाग्मतीमा जानेछ भने परीक्षण सकिएर ठीक छ भनेपछि त्यो पानी प्रणालीमा जानेछ । मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई साता पछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको हो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो ।
विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकसँग सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लो पटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झार्ने लक्ष्य राख्दै आएको थियो । पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस