पशुपति क्षेत्रबाट २० मेट्रिकटन फोहर व्यवस्थापन
महाशिवरात्रि मेलापछि पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गर्न थालिएको छ । वाग्मती सफाइ महाअभियानको ४०९औँ हप्तामा पशुपति क्षेत्रको हंसमण्डपमा सफाइ गरी २० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।
महाशिवरात्रिका अवसरमा फागुन २७ गते हंसमण्डप क्षेत्रमा खाना खुवाउने, सांस्कृतिक कार्यक्रमसहित भक्ति सङ्गीतसमेत आयोजना गरिएको थियो । हंसमण्डप क्षेत्रमा प्लाष्टिक, कागजका प्लेट, प्लाष्टिक र कागजका गिलास, बोत्तललगायत फोहर यत्रतत्र फालिएका अवस्थामा वाग्मती सफाइ महाअभियानले सफा गरेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिए ।
फोहरको डङ्गुर जम्मा भए पनि तीन दिनदेखि सफा नगरी थुप्रिएको अवस्थामा भेटिएको अभियानकर्मीको गुनासो छ । भोजन एवं अन्य गतिविधि गर्ने समूहलाई नै सफा गराउन नसकिएको भेटिएको जनाइएको छ ।
सफाइमा मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डे, तिलगङ्गा सफाइ समूह, चक्रपथको उत्तरखण्ड र मैतीदेवी सफाइ समूह पनि पशुपति क्षेत्रको सफाइमा केन्द्रित भएका जनाइएको छ ।
महाअभियानले यसअघि फागुन २२ गतेको सफाइ पनि पशुपति क्षेत्रको सूर्यघाटबाट आर्यघाटसम्म गरेको थियो । महाशिवरात्रिमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले महाशिवरात्रिअघि र पछिका दुवै शनिबार पशुपति क्षेत्रमै सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।
विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारीका बेलासमेत निरन्तर हुँदै आएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि नदीका विभिन्न स्थानका साथै यसका सहायक नदीसमेत सफाइ भइरहेको छ ।
महाअभियानबाट प्रभावित भएर देशका मुख्य शहर एवं नदी क्षेत्रमा सफाइ शुरु भएको छ । हाल देशभर १०७ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती नदी किनारमा रहेका मठमन्दिरमा विशेष मेला लाग्ने बेलामा सफाइ महाअभियान तिनै मठमन्दिर केन्द्रित हुने गरेको छ ।
नदी किनारमा रहेका मठमन्दिर व्यवस्थापन समिति एवं स्थानीय सरकारका एकाइ सफाइमा केन्द्रित नभएको भेटिएको अभियानकर्मीको गुनासो छ । शहर, नदी, सम्पदा सफा राख्ने हो भने सबै संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस