महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाई
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउनुभएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।
गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणासहित साधुसन्तलाई बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई छ वर्गमा विभाजन गरी दक्षिणासहित बिदाइ गरेको छ । रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१ र रु १५१ गरी छ वर्गमा विभाजन गरी दुई हजार साधुसन्तलाई दक्षिणासहित आज बिदाइ गरिएको संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले राससलाई जानकारी दिनुभयो ।
नागाबाबालाई भने दक्षिणासहित २०० ग्राम र १०० ग्रामको पेडासहित बिदाई गरिएको छ । वरिष्ठ नागाबाबालाई २०० ग्राम र कनिष्ठ नागाबाबालाई १०० ग्रामको पेडासहित बिदाई गर्ने परम्परा छ । यस वर्ष पशुपति क्षेत्रमा १०० जना नागाबाबा आएको संस्थानले जनाएको छ । दक्षिणासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुन कृष्ण एकादशीका दिन शीतलनिवासमा सङ्कल्प गर्नुभएको सामग्रीसमेत वितरण गरिएको छ । बाँकी साधुसन्तलाई आइतबार पनि दक्षिणासहित बिदाइ गरिने जनाइएको छ ।
पशुपतिमा आउने साधुसन्तलाई फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले खाने, बस्ने, धुनी जगाउने व्यवस्था गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसैबीच पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको जनाएको छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस