खेलकूदबाट बिदा लिएर व्यवसायमा रमाउँदै
जानकी गाउँपालिका–९ खैरीफाँटाका शिवराज भाटको नाम भलिबलमा चर्चित छ । उनी सुदूरपश्चिमा सो खेलमा सुपरिचित छन् । खेल पेशाबाट स्थापित भएका उनी खेल जीवनबाट भविष्य सफल नहुने भएपछि अहिले व्यावसायिक पशुपालनमा आकर्षित भएका हुन् ।
उनले स्थानीयदेखि राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरुमा सहभागिता जनाउने अवसर पाए भने अधिकांश प्रतियोगिताको उपाधिसमेत हात पार्न सफल भए । विसं २०५८ देखि भलिबल खेललाई व्यावसायिक खेलको रुपमा लैजाने उद्देश्य लिएका उनी खेलकूदमा सफल हुन भने सकेनन्। प्रतियोगितामा आफूले राम्रो सम्मान पाएको उनी बताउछन् । ‘मैले खेल क्षेत्रमा कहिल्यै घमण्ड गरिन । त्यसको परिणाम राष्ट्रिय खेलाडीको रुपमा पनि थुप्रै खेल पनि खेल्ने अवसर पाएँ ।’ उनले भने, ‘साथीभाइसँग रमाइलो, खेलप्रेमीको मायाले मात्र जीवन चलाउन सकिँदोरहेनछ । जीवनको ऊर्जावान् समय खेलकूदमा बिताए पनि अहिले खेलकूद छोडेर व्यावसायिक पशुपालनमा जोडिएको हुँ ।’
उनी भलिबलमात्र नभई फुटबलको पनि राम्रो खेलाडी हुँन् । सुदूरपश्चिमस्तरीय फुटबल प्रतियोगिता खेलेका उनको हात र औला भाँचियो । ‘खेलकूदमै लागेर डोटीमा भएको प्रतियोगितामा मेरो खुट्टामा समस्या देखिएको थियो । डाक्टरले अप्रेशन गर्नुपर्ने भने पनि खर्च बढी लाग्ने भएकाले अप्रेशन गर्न सकेको छैन ।’ उनले भने, ‘खेलकूद क्षेत्रमा लागेर अहिले त्यो दुःख देख्दा आफूलाई पछुतो लाग्छ । एक खेलाडीले आफ्नो उपचार गर्नसक्ने अवस्था अझै बन्न सकेको छ । सरकारले खेलाडीप्रति हेर्ने दृष्टिकोण अझै फेरिएको छैन ।’
विसं २०७७ फागुन १० गते अरुण युवा क्लब खैरीफाँटाले आयोजना गरेको खुला भलिबल प्रतियोगिताबाट उनले भलिबल खेल जीवनबाट सन्यास लिएका छन् । उनले खेलकूदसँगै व्यवसाय शुरु गरेका थिए । तीन वर्षदेखि व्यावसायिक बङ्गुरपालन शुरु गरेका शिवले अहिले लोकल कुखुरा र कडकनाथको व्यवसाय पनि शुरु गरेका छन् । ‘मैले टर्की, लौकटको व्यवसाय पनि गरेको थिएँ । कोरोनाका कारण भएको बन्दाबन्दीको बेला मासुको अभाव हुँदा सबै बिक्री भए ।’ शिवले भने, ‘सबै परिवार यही व्यवसायमा छौँ । मैले व्यवसायसँगै शिक्षण पेशालाई पनि सँगै अगाडि बढाएको छु ।’ जानकी गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय अमरावती र अरुर्णोदय माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका छन् । विद्यालयमा अध्यापनमात्र नभई खेल शिक्षकको रुपमा पनि काम गर्दै आएका शिवले रारा फाउण्डेशनले किशोरीका लागि खैरीफाँटामा शुरु गरेको फुटबल प्रशिक्षकको रुपमा शुक्रबार र शनिबार काम गर्दै आएको बताएका छन् । ‘आफ्नो क्षमताले काम गर्नसके कसैले पनि पछाडि फर्केर हेर्नू पर्दैन ।’ उनले भने, ‘अब मलाई कुनै कुराको अपुग छजस्तो लाग्दैन । आफ्नो क्षमताले भ्याएको सबै गरेको छु । परिवारको राम्रो साथ छ ।’
रु छ लाख लगानी गरेर व्यवसाय शुरु गरेका उनी गाउँकै एक नमूना व्यावसायिकको रुपमा स्थापित भएका छन् । उनले युवालाई राज्यको खेलक्षेत्रमा स्पष्ट नीति नआएसम्म पूरै समय खेलमा व्यतीत नगर्न आग्रह गरे । उनले आफूले मात्र नभई आफ्नै भाइलाई पनि खेलकूदमै आकर्षित गराउँदा अहिले त्यसको परिणाम आएको बताए । ‘मेरै प्रशिक्षणबाट स्थापित खेलाडी बनेको कान्छो भाइ नरेश भाट अहिले वैदेशिक रोजगारीमा होमिनुपरेको छ । खेलकूदलाई व्यवसायीकरण गर्न नसकिएसम्म खेल क्षेत्रबाट कसैको भविष्य सुनिश्चित छ जस्तो लाग्दैन ।’ उनले भने, ‘शरीरमा ऊर्जा रहँदासम्म खेलाडी बन्ने हो भने बाँकी जीवन जीउन र परिवार चलाउन कसको सहारा लिने ?’
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस