ओछ्यानमै थलिए ‘कर्नाली दख्खिन बग्दो छ’ का पुन्नबहादुर
अँगेनामा आगो बलिरहेको छ, ओदानमाथि एउटा ताप्केमा पिठो र केही चामलका मुठी फत्फत पाकिरहेको आवाज आइरहेको छ, चुलोको दायाँपट्टी दुई छोरी एक छोरा आगोमा हात फिँजाएर आगो तापिरहेका छन् । एक अधबैँसे महिला बाहिर भित्र गर्दै केही खोजीरहेकी जस्तै गरिरहेकी छन् ।
चुलोको पूर्वपट्टी भुइँमा एक थान कपडा ओछ्याइएको छ, त्यसमाथि एउटा महिलाको पातलो सल ओडेर गोडामाथि हात राख्दै बसेका एक व्यक्ति मलिन अनुहार लिएर टोलाइरहेका छन् लाग्छ उनले आफ्नो सामुन्ने बसिरहेका तीन बालकका बारे सोच्दै टोलाएका हुन् । यो मनै भावविभक बनाउने दृष्य कुनै सिनेमा वा कुनै नाटकको नभै एक पत्रकार तथा कलाकारको घरमा देखिएको वास्तविक दृष्य हो ।
पत्रकार तथा कलाकार सुमन मल्ल मधुमेह, बाथ र उच्च रक्तचापले थलिएर पछि आर्थिक अभाव र गरीबीका कारण उपचार गर्ने आर्थिक क्षमता नहुँदा उपचारको पर्खाइमा यसरी नै मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ ठिनी टोलमा रहेको आफ्नो घरमा एक वर्षयताबाट दिन कटाउदै आएका छन् । मल्लले कर्णालीको यथार्थ जीवनमा आधारित रहेर बनाइएको चर्चित नाटक कर्नाली दक्षिण बग्दो छ र कर्नालीवासीलाई सपना देखाउने गरी बनाइएको अर्को चर्चित नाटक सुइना कर्नालीको नाटकका मुख्य पात्रका रुपमा भूमिका खेलेका थिए ।
रोग, भोग, विकटतामा रहेर आफ्नो कष्टकर जीवन बिताउँदै आएका कर्णालीवासीको जीवन नाटक र पत्रकारितामा उतार्दै सयौँको पीडामा मलम लगाएका मल्लले एक वर्षबाट ओछ्यानमै थलिँदा पनि कोही सहयोगी मन भेटाउन सकेका छैनन् । घरको अवस्था बिहान बेलुका छाक टार्न धौधौ पर्ने गरेको छ, त्यसमा तीन छोराछोरीलाई पाल्नुपर्ने, बूढी आमा र श्रीमतीकोे मायाको पिरोलो रहेको, रोग सामान्य भए पनि औषधि गर्ने एकसुको पनि नहुँदा ओछ्यानमै थलिनु परेको मलिन स्वरमा पत्रकार मल्ल भन्छन् ।
लामो समयदेखि मुगुमा बसेर नागरिक दैनिक, नयाँपत्रिका दैनिक र स्थानीय रेडियो मुगुमा स्टेसन इञ्चार्जका रुपमा काम गर्दै आएका मल्लले ओछ्यानमै थलिएपछि दुई वर्षयताबाट समाचार र नाटक लेख्न र खेल्न सकेका छैन । गत वर्ष बिरामी हुँदा छायाँनाथ रारा नगरपालिकाले रु ५० हजार सहयोग गरेपछि नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरेका थियौँ त्यो बेला पत्रकार महासङ्घ मुगुमा आबद्ध पत्रकारले पनि सहयोग गरेका थिए, पछि पुनःबिरामी हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहयोग र जुम्लाका क्रियाशील पत्रकारको सहयोगमा उपचार भयो ।
उनकी श्रीमती गङ्गा मल्ल आँखाबाट आँशु झार्दै भन्छिन्, “सहयोग गरेको रकमले सामान्य उपचार भए पनि काठमाडौँलगायत अन्य मुख्य शहर रहेका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न पाए निको हुनुहुन्थ्यो कि ।’’ उनी भन्छन्, ‘‘बिहान बेलुका खाना खानेसम्म अवस्था नाजुक छ कसरी औषधि गरौँ त्यो बेला पत्रकार नहुनुस् कतै जागिर खानुस्, नभए व्यापार गरौँ भनेको थिए मान्नु भएन अहिले पैसा कताबाट ल्याउ छोराछोरी बूढी सासू पालु कि श्रीमानको उपचारका लागि माग्दै हिँडु ।”
सुइना कर्णाली र कर्णाली दख्खिन बग्दो छ, नाटक काठमाडौँमा चलिरहँदा नेपालमा रङ्गमञ्चको कोसेढुङ्गा सावित भई त्यसयता नाटकमा दर्शक तानिएका थिए । रङ्गमञ्चका एक मुख्य पात्र उही पुन्नबहादुर विश्वकर्मा (हुड्के) को भूमिका निर्वाह गरेर चर्चित बनेका सुमन लामो समयसम्म बिरामी परेर ओछ्यानमा थलिँदा भने न त पत्रकाररिताका नाममा भाषण ठोक्दै हिँड्ने पत्रकार आए न त रङ्गमञ्चका बादशाह सम्झने रङ्गकर्मी नै ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस