घरमै बसेर विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफट्वेयर जडान गरी विदेशमा रहेका पुस्तक पढ्ने व्यवस्था गरेको हो ।
बेलायतबाट उक्त सफ्टवेयर पुस्तकालयले रु ३२ लाखमा खरीद गरेको हो । पुस्तकालयले त्रिविअन्तर्गतका आङ्गीक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीलाई प्रोक्वेस्ट डाटाबेस सफट्वेयरबाट निःशुल्करुपमा पुस्तक पढ्ने व्यवस्था गरिएको पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले जानकारी दिए ।
विदेशी विश्वविख्यात विद्वानले प्रकाशित गरेका पुस्तक, जर्नल, लेखरचनालगायत निःशुल्क पढ्नका लागि विद्यार्थीले पुस्तकालयको वेबसाइट मा फाराम भर्नुपर्ने हुन्छ । सोही फाराम भरेका आधारमा विद्यार्थीको इमेल आइडी उपलब्ध गराई पुस्तकालयले विदेशी पुस्तक, डकुमेन्ट, जर्नललगायत पढ्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए ।
गत मङ्सिरबाट शुरु भएको रिमोट एक्सेस प्रणालीमा अहिले ३० हजार विद्यार्थीको इमेल आइडी बनाइएको छ । पुस्तकालयका सूचना अधिकारी विजय शर्माले विद्यार्थीलाई घरमै बसेर विदेशका प्रसिद्ध लेखकले लेखका सामग्री पढ्न पाउने बताए ।
उनका अनुसार उक्त रिमोट एक्सेसमार्फत प्रोक्वेस्ट डाटाबेशमा राखिएका चार लाख ५० हजारभन्दा बढी ई–पुस्तक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेशनका साथै हजारौँ शीर्षकका जर्नल, पत्रिका र लेख, रचना रहेका छन् ।
उक्त सेवाका लागि नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, हेटौँडा कलेज अफ सोसल साइन्सेस, सगरमाथा इञ्जिनीयरिङ कलेज, बानेश्वर बहुमुखी क्याम्पस संस्थागतरुपमा पुस्तकालयले खरीद गरेको डाटाबेससँग जोडिएका छन् ।
यस्तै पुस्तकालयले पछिल्लो समय एशियन विकास बैंक र नेशनल डिजिटल लाइब्रेरी अफ इण्डियासँग ई–रिसोर्सेसको प्रयोगमा सम्झौता र सहकार्य गरेको छ । उक्त सम्झौतानुसार एशियन विकास बैंकसँग रहेका तीन लाख रिर्सोस पुस्तक र डिजिटल लाइब्रेरीसँग रहेका चार करोड ५० लाख ई–पुस्तकालय, जर्नल, थेसिस, अडियो, भिडियोसमेत निःशुल्क पढ्न पाउने सूचना अधिकारी शर्माले जानकारी दिए । अहिले पुस्तकालयसँग चार लाख १० हजार पुस्तक छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस