घाम लाग्दा धुलो र पानी पर्दा हिलो
पूर्व–पश्चिम लोकमार्गस्थित सर्लाहीको फुजोरबाट–त्रिभुवननगर सडकखण्डको निर्माणले गति लिन सकेको छैन । यसले गर्दा स्थानीय बासिन्दा दैनिक सास्ती खेप्न बाध्य भएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले स्थानीय आजित भएका छन् । सडकले सुविधाभन्दा सास्ती बढी दिएको स्थानीय कपिल साहले गुनासो गरे।
तीन वर्षमा निर्माण सकिनुपर्ने यस सडक खण्ड चार वर्ष वितिसक्दला पनि अधुरै छ । रु ८६ करोडमा विसं २०७३ मा ठेक्का लागेको यस सडकको निर्माण ५० प्रतिशत पनि पूरा भएको छैन । ‘काममा ढिलासुस्ती हुँदा एक दर्जनभन्दा बढी गाउँका बासिन्दा हिलो र धुलोमा यात्रा गर्न बाध्य छन् । दुर्घटनाको जोखिम पनि उत्तिकै छ । सडक मापदण्डमा परेका घर स्थानीयवासीले भत्काएका छन् । काममा ढिलाइ भएको जनाउँदै स्थानीयवासी आक्रोशित बनेका’, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले भने ।
त्रिभुवननगरबाट पूर्व–पश्चिम लोकमार्ग फुलजोरसम्म सडक कालोपत्र गर्न सन् २०१७ मै टुण्डी–आशिष–सन्तोषी (जेभी) कम्पनीले ठेक्का लिएको चार वर्ष बितिसकेको छ । यस अबधिमा करिब २५ किलोमिटर सडकको काम ५० प्रतिशत पनि नसकिएको छैन । रु ८६ करोड एक लाख ६६ हजारमा २५ किलोमिटर लामो यस सडक २०२० जुनमै निर्माण सकिनुपर्ने थियो । निर्माण अलपत्र परेपछि आगामी असार मसान्तसम्म म्याद थपिएको छ । अहिलेसम्म आधामात्रै काम भएकाले थपिएको समयमा पनि नसकिने निश्चित रहेको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले जानकारी दिए ।
सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार आफूहरूको सम्पर्कमा नरहेको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष साहले बताए । ठेकेदारको लापरवाहीका कारण काममा ढिलासुस्ती भएको र दुर्घटना पनि बढेको उनको भनाइ छ ।
सो सडक जिल्लाको ईश्वरपुर नगरपालिका, चन्द्रनगर र ब्रह्मपुरी गाउँपालिकासहित धेरै गाउँलाई पूर्व–पश्चिम राजमार्ग, सदरमुकाम मलङ्गवा र छिमेकी मुलुक भारतको बिहार राज्यसँग जोड्ने मुख्य सडक रहेको छ । ढिलाइ गर्ने ठेकेदारलाई कारवाही गरेर छिटो सडक निर्माण सक्न स्थानीयवासीले सरकारसँग पटक–पटक मागसमेत गरेका छन् ।
निर्माणको ठेक्का पाएको कम्पनीका ठेकेदार जीवन कँडेल कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनका कारण काममा समस्या भएको बताउँछन् । उनले भने, ‘सडकमा प्रयोग हुने मेसिन चलाउने अपरेटर छिमेकी देश भारतबाट आउने भएका कारण कोरोना समयमा घर गएका अपरेटर ढिलो आउँदा काम ढिलो भएको हो ।’ ठेकेदारले समयमा काम पूरा नगरेको जनाउँदै स्थानीयवासी शान्ता श्रेष्ठको नेतृत्वमा सो सडकखण्डमा पटक–पटक आन्दोलनसमेत भएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस