• जीवनशैली | Jiwanshaili
  • उपचार नपाउँदा कष्टकर जीवन बिताउँदै ९१ वर्षिया द्रौपदी


    उमेरले ९१ वर्ष पुगे पनि कास्कीको मादी गाउँपालिका–९ छाप मैदानकी द्रौपदी जमरकट्टेलका जीवनमा कहिल्यै खुशी आएन । चिसो–तातो मिलाएर छोराछोरी, बुहारी तथा नातिनातिनालगायत आफन्तले खाना खुवाउने तथा स्याहारसुसार गर्नुपर्ने अवस्थामा बेसहारा जमरकट्टेलले यतिखेर दर्दनाक जीवन बिताउँदै आएकी छन् ।

    पर्खालको सहायतामा झुत्रो गुन्द्री बिछ्याएर गुन्द्री नै ओढेको अवस्थामा भेटिएकी जमरकट्टेलले वर्षौँदेखि कष्कटर जीवन बिताउँदै छिन् ।

    पाँच छोरी र एक छोराकी अभिभावक जमरकट्टेल विगत सात वर्षयता श्वासप्रश्वासलगायतका समस्याले ग्रसित भए पनि उपचार नपाउँदा कष्टकर जीवन बिताउन बाध्य छिन् । चैत महिनाको दोस्रो साता मादी–९ गोर्जेमा पर्खालको सहायतामा झुत्रो गुन्द्री बिछ्याएर गुन्द्री नै ओढेको अवस्थामा भेटिएकी जमरकट्टेलले वर्षौँदेखि कष्कटर जीवन बिताउँदै आएको स्थानीयवासीले बताए ।

    स्थानीयवासीका अनुसार वर्षौ पहिले श्रीमानले कान्छी लिएर गाउँ छाडेपछि द्रौपदीका दुःखका दिन शुरु भएका हुन् । श्रीमान् अहिले कान्छी श्रीमतीका साथ कास्की जिल्लाको रुपा गाउँपालिका–७ हंसपुरमा बस्छन् । पाँचवटी छोरी विवाह भएर आ–आफ्ना  घर लागिसकेका छन् भने घरमा भएका छोरा नसा र हाडसम्बन्धी रोगबाट ग्रसित छन् । आफू पनि अशक्त र बुढ्यौलीले छोएर आर्थिक विपन्नताका कारण उपचार गर्न नपाएको उनका छोरा नरनाथ जमरकट्टेलले बताए।

    बुबाले आफूहरु सानै छँदा कान्छी आमा लिएर हिँडेको बताउँदै उनले छ छोराछोरीको पालनपोषणका लागि आमाले विगतमा निकै सङ्घर्ष गरेको अनुभव सुनाए । दिदीबहिनी विवाह भई गइसकेको र आफू शारीरिकरूपमा अशक्त भएका कारण चाहेर पनि आमाको उपचार गर्न नसकेको उनले दुखेसो गरे ।

    ‘पोखराको फिस्टेल अस्पतालमा उपचार गर्न त लगियो, उपचार गर्दा पेटसम्बन्धी समस्या देखियो’, उनले भने, ‘चिकित्सकले पुनः परीक्षणका लागि बोलाए पनि पैसा नहुँदा अस्पताल लैजान सकिएन, सात वर्षयता नजिकको स्वास्थ्यचौकीबाट ग्यास्ट्रिक र दमको औषधि ल्याएर निरन्तर खुवाउने गरेका छौँ ।’

    त्यसै बेलादेखि आमाको बोलीसमेत नआउने गरेको र हातको इशाराले बोलाउने गरेको बताउँदै उनले पैसा भएमा अस्पताल लगेर राम्रोसँग उपचार गर्ने इच्छा रहेको बताए । ‘दिनभरि चौरमा बस्छिन्’, साँझ परेपछि घरको कोठामा ल्याउने गरेको द्रौपदीको सेवामा लागेकि बुहारी सम्झना जमरकट्टेलले बताइन् । उनले भनिन्, ‘कोठामा बसिरहँदा दमको रोगले बढी च्याप्ने हुँदा दिनमा बाहिर घाममा राखेर आफ्नो तर्फबाट सक्दो सेवा गर्दै आएका छौँ ‘ । दुई छोरीका अभिभावक उनिरुको हिमालय मावि नजिकै रहेको जस्ताले छाएको सानो घरसहित साढे दुई रोपनी जग्गा छ ।

    ज्येष्ठ नागरिक द्रौपदी प्रतिनिधि पात्र मात्र छिन्, यस्ता धेरै ज्येष्ठ नागरिक सरकारी उपचारको पहुँचमा अझै पनि पुग्नसकेका छैनन् ।

    सोही स्थानमा सञ्चालित हिमालय मावि गोर्जे र वडा नं ९ को नवनिर्मित भवनको अनुगमनमा पुग्नुभएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले सरकारले ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरे पनि दूरदराजका ज्येष्ठ नागरिकले उक्त सेवा लिन नसकेको बताए ।

    ‘ज्येष्ठ नागरिक द्रौपदी प्रतिनिधि पात्र मात्र छिन्, यस्ता धेरै ज्येष्ठ नागरिक सरकारी उपचारको पहुँचमा अझै पनि पुग्नसकेका छैनन्’, उनले भने, ‘यस्ता अभिभावकको उपचारमा सबै क्षेत्रको साथ र सहयोगको आवश्यक पर्दछ ।’

    उनले द्रौपदीका छोरा नरनाथलाई आमाको उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल ल्याउन सुझाव दिँदै समस्या परेमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखराबाट लेखनाथ हुँदै कालिका, सौर्य, भगवतीटार, घुम्ले हुँदै लगभग चार घण्टाको अवधिमा पुग्न सकिने सो स्थानसम्म पुग्नका लागि कच्ची मोटरबाटो निर्माण गरिएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार