लक्ष्य भन्दा छ महिना अघिनै पुल निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला र रायखोर जोड्ने झोलुङ्गे पुल लक्ष्य भन्दा छ महिना अघिनै निर्माण भएको छ । अधिकांश विकास आयोजना अलपत्र र ढिलासुस्तीले थला परिरहेको अवस्थामा रायखोरको फडुकेडाँडा र चिमखोलाको ताप्केभिरको सिमाना भएर बग्ने रघुगङ्गा नदीमाथि लक्ष्य अघिनै झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माणस्थल रघुगङ्गा गाउँपालिकाको वडा नं ६ र ७ को सिमानामा पर्छ ।
सस्पेन्सन वृज डिभिजन कार्यालय ललितपुरले सो पुल निर्माणका लागि २०७६ फागुन १५ गते उमाखानी जेभीसँग रु साठी लाखमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयका डिभिजनल इञ्जिनीयर गौरीकुमार श्रेष्ठले २०७८ भदौ १५ गतेसम्म ठेक्काको म्याद भए पनि २०७७ चैत पहिलो हप्तानै ठेकेदारले पुल निर्माण सकेर हस्तान्तरण गरेको जानकारी दिए ।
‘रु ७४ लाख ७४ हजार ६१९ लागत अनुमान रहेको पुल निर्माण अवधि १८ महिनाको थियो,’ उनले भने,’आगामी भदौ १५ गतेसम्म ठेक्काको म्याद भए पनि लक्ष्य भन्दा छ महिना अघिनै पुल निर्माण सकिएको हो ।’ त्यसमा २३ मिटर लम्बाइको डिजाइन भए पनि पुल निर्माणका क्रममा ६ मिटर लम्बाइ बढाइएको छ ।
कोरोना भाइरसको जोखिम र लकडाउन (बन्दाबन्दी) का कारण फागुनमा सम्झौता गरे पनि निर्माण व्यवसायीले गत मङ्सिर महिनामा मात्रै निर्माण शुरु गरेका थियो । शुरु गरेको चार महिनामै पुल तयार भएको हो । कोरोनाको जोखिम, बन्दाबन्दी र भौगोलिक विकटताको बाबजुद पनि निर्माण व्यवसायीले पर्याप्त मजदूर र सामग्री जुटाएर लक्ष्य अघिनै पुल निर्माण गरेका हुन् ।
चिमखोलाका बासिन्दासमेत रहनुभएका सांसद थममाया थापाले निर्माण व्यवसायीको इच्छाशक्ति, समुदायको चासो र सम्बद्ध कार्यालयले पहल गर्ने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने यो पुल निर्माण योजनाले सन्देश दिएको बताए ।
पुल निर्माण भएपछि चिमखोला, सिस्नेरी, पात्लेखर्क, रायखोर, कोटगाउँ, ठाडाखानीका करीब पाँच सय घरधुरी लाभान्वित भएका छन् । रायखोर र चिमखोला आवतजावत गर्ने करीब ३० मिनेट यात्राअवधि छोटिएको चिमखोलाका ओम पुनले बताए । ‘यसअघि काठको जीर्ण पुलमा आवतजावत गर्न जोखिम थियो’, रायखोरका दलप्रसाद पुनले भने, ‘नयाँ ठाउँमा लामो दूरीको पुल बनेपछि सुरक्षित रुपमा आवतजावत गर्नुका साथै दूरी पनि घटेको छ ।’ रायखोर गाउँबाट चिमखोलाको अमर माविमा पढ्न आउने विद्यार्थी सबैभन्दा बढी लाभान्वित भएका छन् । सडक सुविधा नपुगेको रायखोर गाउँ भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस